नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फि सञ्चालनमा

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, १७ : ३४
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फि सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फि सञ्चालनमा आएको छ । 

सोमबार बिहानदेखि कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ–मुग्लिन सडक आज मंगलबार दिउँसो पौने पाँच बजेपछि एकतर्फी खुलेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलाइएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउने काम भने अझै बाँकी नै छ । लगभग एक तिहाइ पहिरो मात्र सफा भएका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने छ ।

नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वीराजमार्गको विभिन्न ठाउँमा अवरोध छ । पृथ्वीराजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ । चितवन धादिङ सिमाना मौवाखोलामा पुल नै भत्केकाले नारायणगढ हुँदै काठमाडौं गाडी चल्न भने सक्ने अवस्था तत्कललाई छैन । नारायणगढ–मुग्लिन सडकको १७ किलो भन्ने ठाउँमा सडक भाँसिने क्रम बढेकाले धेरै भार भएका मलवाहक गाडी चल्न समस्या नै हुने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस