विचार

नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइराला

मंगलबार, ०६ साउन २०७७, १६ : ४७
नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइराला

- गुरुराज घिमिरे

जननायक बीपी कोइरालाले यस लोकबाट भौतिक रूपमा बिदा लिएको ठ्याक्कै अठ्तीस वर्ष पूरा भएछ । आजकै दिन अर्थात् २०३९ साल श्रावण ६ गते उहाँले आफ्नो स्थूल शरीर परित्याग गर्नुभएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रणेता तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइरालाको आज अठ्तीसौँ स्मृति दिवस हो । उहाँ नेपाली काँग्रेसका प्रातः स्मरणीय संस्थापक नेता हुनुहुन्थ्यो ।

Yeti Diistillery Tansen Cement box

राणा प्रधानमन्त्री चन्द्र शमशेरको कोपभाजनमा परेर विसं. १९७५ मा कोइराला परिवार भारत निर्वासनमा जान बाध्य भयो । त्यतिखेर बीपी मात्र चार वर्षको नाबालक हुनुहुन्थ्यो । गिरिजाबाबु जन्मेकै थिएनन् । विराटनगरका प्रतिष्ठित व्यक्तित्व कृष्णप्रसाद कोइरालाको सुधारवादी छवि र चेतनाले तर्सिएको राणा शासनले बिनाकारण सिराहाको चन्द्रगञ्जमा ब्यापार गरी बसेका समाजसेवी कृष्णप्रसादको परिवारलाई सम्पूर्ण निजी सम्पत्तिमा बेदखलसमेत गरी देश छाड्न बाध्य बनायो । झुत्रा लुगा र घेरो मात्र बाँकी रहेको टोपी लगाएका हात गोडा पटपटी फुटेका गरिब ढाक्रेको कपडा पार्सल गरी चन्द्र शमशेरलाई चिठ्ठी पठाएको र गरिब नेपालीको दयनीय अवस्था सुधार्न सरकारले कदम चाल्नुपर्ने सुझाव दिएको अभियोगमा कृष्णप्रसाद कोइरालाको परिवारले त्यस्तो कठोर सजाय पाएको थियो ।

चन्द्र शमशेरको निधन र भीम शमशेर श्री ३ र प्रधानमन्त्री भएपछि बाह्र वर्षको निर्वासनपछि कोइराला परिवार स्वदेश फर्केको थियो । समाज र मानव जातिका लागि केही योगदान नगरे जीवन सार्थक हुँदैन भन्ने चेतना नभएको भए आफ्नो परिवारका लागि पुग्दो धन कमाइसकेका कृष्णप्रसादले सर्वशक्तिमान शासक चन्द्र शमशेरलाई थोत्रा कपडाको पार्सल पठाउनु पर्ने कुनै दरकार नै थिएन । 

त्यो समय भारतमा अङ्ग्रेजको औपनिवेशिक शासनविरुद्ध स्वतन्त्रताको सङ्घर्ष उत्कर्षतर्फ बढ्दै थियो । माहात्मा गान्धी यस सङ्घर्षका निर्विवाद नेता थिए । यद्यपि स्वतन्त्रता सङ्ग्रामलाई अहिंसात्मक मात्र बनाउने कि नबनाउने भन्ने विषयमा प्रश्न भने उठिरहन्थ्यो । जवाहरलाल नेहरू, सुवासचन्द्र बोस, सरदार पटेल, आचार्य कृपलानी, जय प्रकाश नारायण, राममनोहर लोहिया लगायतका मूर्धन्य नेताहरु सङ्घर्षको मैदानमा थिए । निर्वासनको समयमा स्कुल पढिरहेका किशोर बीपीलाई स्वतन्त्रता आन्दोलनले स्पर्श गर्यो । त्यसै पनि उहाँका पिताजी कृष्णप्रसाद सङ्ग्राममा होमिसकेका थिए । उनी कट्टर गान्धीवादी थिए । एक प्रकारले सम्पूर्ण परिवार नै सङ्घर्षको हिस्सा बनेको थियो । 

बीपीको पारिवारिक पृष्ठभूमि तथा स्वयंको चेतन र अवचेतन मनले स्वतन्त्रता आन्दोलनलाई वरण गरिसकेको थियो । विसं। १९८४ मा अर्थात् १३ वर्षको उमेरमै प्रथम पटक गिरफ्तारीमा पर्नुभएका नाबालक बीपीको राजनीतिक यात्रा जीवन पर्यन्त निरन्तर कायम रह्यो । उहाँले आफ्नो जीवनको अठ्तीस वर्ष भारतमा ९तीन वर्ष हजारीबाग जेल, अठार वर्ष बनारस, आठ वर्ष पटना, पाँच वर्ष टेढी, तीन वर्ष कलकत्ता, एक वर्ष दार्जिलिङ० बिताउनुभएको थियो भने बाँकी २८ वर्ष नेपालमा ९बीस वर्ष काठमाडौँ जसमध्ये झण्डै आधा समय अर्थात् दश वर्ष जेलमा, पाँच वर्ष विराटनगर, तीन वर्ष चन्द्रगञ्ज सिराहा०, अन्य दुई वर्ष यात्रा र उपचारमा बिताउनु भएको थियो । सामान्यतया संसारमा यस्तो उतारचढाव पूर्ण राजनीतिक जीवन भएको राजनीतिज्ञ अपवादका रूपमा मात्र भेटिन्छ । बीपी त्यही अपवाद हुनुहुन्थ्यो । जन्मेको केही वर्षमै आफ्नो सारा जायजेथा गुमाएर प्रवासी हुनु र परिवारको गुजारा गर्न चरम कठिनाइ बेहोर्नु परेको अथाह पीडालाई शब्दमा अनुवाद गर्न साच्चै कठिन हुन्छ । निर्वासनका प्रारम्भिक दिनहरू निकै दुखदायी रूपमा बिताएर नेपाल नजिकै पर्ने टेढीमा बस्न थालेपछि केही सहजता भए पनि बीपीको बाल्यकाल सुखद रहेन । अभाव र गरिबीको पर्याप्त अनुभव उहाँसँग थियो । 

   भारतीय स्वतन्त्रता सङ्ग्रामको सफलतापछि बीपी नेपाल फर्कनुभयो । यसअघि नै बन्दी अवस्थामा पिताको मृत्यु भइसकेको थियो । त्यतिबेला उहाँ हजारीवाग जेलमा हुनुहुन्थ्यो । लामो समय पिता पुत्रको भेट नै नभई यो घटना भएको थियो । यसको पछुतो र पीडालाई बीपीले धेरै पटक व्यक्त गर्नुभएको छ । जिन्दगीका असाध्यै कठिन दिनमा पनि हरेश नखाई ठूलो सङ्घर्षले आफूलाई सकुशल हुर्काउने र परिवारको संरक्षण गर्ने पिताको जीवनको अन्तिम समयमा एक झल्को अनुहार हेर्नसम्म उहाँले पाउनुभएन । नेपाल आएको केही समयमै उहाँ जेल पर्नुभयो, २००३ को विराटनगर मजदुर आन्दोलनको दौरानमा । यो उहाँको नेपालको राजनीतिमा विधिवत र औपचारिक हस्तक्षेप थियो । हुन त यसअघि नै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेर नेपालबाट राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने उद्घोष भइसकेको थियो । मजदुर आन्दोलनको माध्यमबाट नेपालमा क्रान्तिको बिजारोपण भयो र राणा शासनसँग सोझो टक्कर पनि सुरु भयो । यसअघि नेपाल प्रजापरिषद्ले सुरु गरेको जहाँनिया शासनविरुद्धको आन्दोलनलाई राणाहरूले निर्ममतापूर्वक दबाएका थिए । त्यस दौरान चार जना क्रान्तिकारी युवाहरु सहिदसमेत भएका थिए । त्यही क्रममा सर्वोच्च नेता गणेशमान सिंहलाई राणाहरुले आजीवन कारावासको सजाय दिएका थिए । त्यतिबेला नेपालमा चलेको राणा शासनले नेपाली समाजमा चरम विभेद सिर्जना गरी नेपाली जनताको जीवनलाई नारकीय तुल्याएको थियो । राणाहरुको नजरमा जनताको स्थान र उनीहरुले गर्ने व्यवहार दासता पूर्ण र पशुवत थियो । 

नेपालमा प्रजातन्त्रको स्थापना गरी नेपाली समाजलाई खुला राजनीतिक परिवेशमा अग्रसर गराउने ऐतिहासिक कार्यका सुत्रधार बीपी हुनुहुन्थ्यो । आफूलाई विष्णुको अवतार बताउने दमनकारी शासकहरुलाई हटाएर जनताको चाहना बमोजिम चल्ने प्रजातान्त्रिक शासन स्थापना गर्ने श्रेय उहाँलाई नै जान्छ । राणा शासनको रोलक्रममा नराखी ग श्रेणीमा झारिएर कलकत्तामा निर्वासित जीवन बिताइरहेका जनरल सुवर्ण शमसेर राणासँग मिलेर नेपाली काँग्रेसको गठन गरी क्रान्तिमार्फत प्रजातन्त्रको स्थापना गरिएको थियो । तत्कालीन विश्व राजनीति दुई ध्रुवमा बाँडिएको थियो । सोभियत धुरी र अमेरिकी धुरी । दुवै धुरीले आआफ्नो राजनीतिक मान्यताको बिस्तार, सुदृढीकरण र प्रवद्र्धन गरिरहेका थिए । साम्यवादी र पुँजीवादी कित्तामा संसार विभक्त हुँदै थियो । त्यस्तो समयमा वर्गसमन्वयवादी सिद्धान्तका रूपमा रहेको प्रजातान्त्रिक समाजवाद नेपालका लागि उत्तम विकल्प हुनसक्छ भन्ने उहाँको मान्यता थियो । यो सिद्धान्तलाई नै उहाँले आफ्नो पार्टी नेपाली काँग्रेसको मार्गदर्शक सिद्धान्त बनाउनुभयो । 

  बीपीमा अन्तर्राष्ट्रिय राजनीतिको यथेष्ट जानकारी थियो । उहाँ विश्व राजनीतिका घटनाक्रमलाई मिहिन रूपले केलाउन सक्ने सामथ्र्य राख्नुहुन्थ्यो । अस्ट्रेलियाको सिड्नीमा आयोजित एसिया प्रशान्त क्षेत्रको बैठकलाई सम्बोधन गर्दा होस् या युरोप अमेरिका भ्रमणका दौरानमा दिएका भाषण, धनी देश र गरिब देशका समस्याको भलिभाँती जानकारी थियो । प्रखर अभिव्यक्ति कला र उत्कृष्ट लेखन क्षमताका धनी उहाँलाई नेपाली समाजको बहुआयामिकताको राम्रो ज्ञान थियो । नेपालको सामथ्र्य र सम्भावनाका बारेमा गहिरो अध्ययन राख्ने बीपीले २०२५ सालमा सुन्दरी जल जेलबाट छुटेर भारत पुगेको केही महिनापछि पार्टीका साथीहरुलाई भन्नुभएको थियो, दक्षिण एसियाको राजनीतिमा केही अनपेक्षित घटनाहरू हुँदैछन् । मुलुक टुक्रने र नयाँ देशको उदय हुने प्रबल सम्भावना छ । नभन्दै सत्तरीको दशकमा पूर्वी पाकिस्तान टुक्रिएर बङ्गलादेश बन्यो, विश्व मानचित्रमा स्वतन्त्र देशको रूपमा रहेको सिक्किमको सार्वभौमसत्ता समाप्त भयो । बङ्गलादेश निर्माणमा त उहाँसमेत संलग्न रहनु भयो भन्ने कुरा पढ्न पाइन्छ । नेपालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि गर्न लागिएको सशस्त्र सङ्घर्षलाई जम्मा गरिएका धेरै हातहतियार तत्काल बङ्गलादेशका लागि आवश्यक ठानेर सेख मुजिबलाई पठाइदिनुभएको कुरा इतिहासमा पढ्न पाइन्छ । 

   निरङ्कुशताको छायाँमा पिल्सिएको नेपाललाई बीपी सम्मानित र प्रतिष्ठित लोकतान्त्रिक राष्ट्र बनाउन चाहानुहुन्थ्यो । त्यसैले अङ्ग्रेजहरुका भक्तका रूपमा रहेका राणाहरुको चङ्गुलबाट नेपालकोे शासन व्यवस्था जनतामा सार्नु अत्यावश्यक थियो । यो अभिभारा पूरा गर्न भारतबाट अङ्ग्रेजको शासन अन्त्य गर्नुपर्छ भन्ने बुझेर स्वतन्त्रता सङ्ग्राममा होमिनुभएको थियो । आखिर भयो पनि त्यस्तै । भारत आजाद भयो र त्यसको तीन चार वर्षभित्रै राणाशासनको समेत अन्त्य भयो । अब नेपाललाई प्रजातान्त्रिक विधिबाट समुन्नतिको मार्गमा अग्रसर गराउनु थियो । यसका लागि उहाँसँग स्पष्ट कार्ययोजना, दृढ निश्चय र अपरिमित आत्मविश्वास समेत थियो । तर परिवर्तन पश्चात आफैले गद्दीमा राखेका राजा र आफैले नेपालका लागि सहज होला भनेर स्वतन्त्रताका लागि योगदान पुर्याएको देशका नेताहरु बदलिए र असहयोगी बने । बीपीले पटकपटक भन्नु भएको छ, हामीलाई भारत र चीन दुवैको सहयोग चाहिन्छ । भौगोलिक र सांस्कृतिक रूपमा भारतसँग हाम्रो घनिष्टता छ तथापि चीन समेत हाम्रो आत्मीय छिमेकी हो । हामीले दुवै छिमेकीको चित्त दुखाउनु हुँदैन । हाम्रो भूराजनीतिक अवस्था नै त्यस्तो छ । उसको सहयोग हाम्रा लागि अपरिहार्य छ । उहाँको विचारमा हामीले दुवै छिमेकीको सहयोग लिएर अघि बढ्नुपर्छ भन्ने थियो । यो कोसिस उहाँले जीवनपर्यन्त गरिरहनुभयो । तर राष्ट्रियता र प्रजातन्त्रको मूल्यमा कहिल्यै सम्झौता पनि गर्नु भएन । छिमेकीले बीपीलाई अर्घेलो ठाने । सबै नेपालीले बीपीलाई सम्झँदा यस कुराको सदैव हेक्का राख्नुपर्छ । नेपाललाई स्वाधीन, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, विकसित र सम्मानित लोकतान्त्रिक राष्ट्र बनाउने उहाँको चाहना सार्थक हुन नदिन धेरै शक्तिहरु क्रियाशील भए जसका कारण उहाँले आजीवन दुःख पाइरहनुभयो । 

बहुलवादी राजनीतिमा सिद्धान्त र विचारको आधारमा प्रतिस्पर्धालाई आमन्त्रण गरिन्छ । विकास राजनीतिभन्दा अलग विषय होइन । तर राजा महेन्द्रमा राजनीतिबाट विकासलाई अलग्गै राख्ने प्रवृत्ति देखियो । अर्को कुरा बीपीको दृष्टिकोण र कार्यक्रम सहितको क्रियाशीलताले नेपाली समाजले विकास र उन्नतिमा तीव्र गतिले गुणात्मक फड्को मार्ने सम्भावना देखियो । यसलाई राजा महेन्द्रले आफू वास्तविक शासक बन्ने महत्त्वाकाङ्क्षामा तगारो ठाने । त्यसैले २०१७ मा जननिर्वाचित सरकारलाई सैनिक बलले अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवात गरे । नेपालको इतिहासमा यो साँच्चै ठूलो प्रतिगमन थियो । राजनीतिबाट अलग्याएर उनले दिएको विकासको आश्वासन फगत तानाशाही नारामा परिणत भयो । नेपालको बहुमूल्य समय खेर गयो । 

बीपीले नेपाली साहित्यमा छुट्टै धाराको प्रयोग भित्र्याउनु भयो । हरेक मान्छेको मनोविज्ञान र खासगरी यौन मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाउन सक्ने अद्वितीय क्षमता उहाँमा देखिन्छ । टेढी प्रवासमा रहँदा वा सुन्दरी जल जेलमा रहेका बेला नरेन्द्र दाइ र सुम्निमा जस्ता उच्च कोटिका कृति रचिए । कर्नेलको घोडा कथा होस् या बाबु आमा र छोरा नामक उपन्यास, उहाँको साहित्य शिल्पका नमुना मानिन्छन् । मान्छेको चेतन मन मात्र होइन, अवचेतन मनलाई छाम्न सक्ने र बुझ्न सक्ने अद्भूत क्षमता उहाँमा विद्यमान थियो । आफ्नो सृष्टिको कारणबाट कुनै पनि प्राणी मुक्त रहन सक्दैन भन्ने कुरालाई उहाँले राम्रो बुझ्नुभएको पाइन्छ । त्यसैले मानिस हरदम यौन परिकल्पनामा डुबिरहने कुरालाई साहित्य मार्फत पस्कने श्रेय हाम्रो सन्दर्भमा उहाँलाई नै जान्छ । मुख्य कुरा त एउटा राजनीतिक व्यक्तित्व भएर पनि साहित्यलाई विशुद्ध र मौलिक रूपमा प्रस्तुत गर्न सक्नु उहाँको विशिष्ट योग्यताको परिणाम थियो । जीवनका अनेकानेक प्रतिकुलताका बाबजुद उहाँबाट नेपाली साहित्यको आख्यान विधाले धेरै कृतिहरु प्राप्त गरेको छ । 

  बीपी नेपाली राजनीतिका असाधारण व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका बारेमा जति चर्चा गरे पनि कम नै हुन्छ । अब एउटा मात्र प्रसङ्ग उल्लेख गरेर यस आलेखलाई अन्तिम रूप दिन उपयुक्त होला । बीपीलाई क्यान्सरले गलाउँदै लगेपछि प्रहरी तालिम केन्द्र महाराजगञ्जमा राखिएको थियो । राजासँग भेटघाट हुने तय भयोे । कुरा सुरु हुनासाथ राजाले भनेछन्, आज अरु कुरा नगरौँ, तिम्रो स्वास्थ्य नाजुक छ, त्यसैको विषयमा मात्र कुरा गरौँ । बीपीले भन्नुभएछ, हैन सरकार, मेरो स्वास्थ्यको के कुरा, देशको स्वास्थ्य नै खराब भएपछि ।

त्यसैले आज म खुलेर सरकारसँग देशको बारेमा कुरा गर्न चाहन्छु । राजा वीरेन्द्रसँगको कुराकानीका क्रममा उनका बुबा राजा महेन्द्रसँग भएको कुराकानीको प्रसङ्ग कोट्याउँदै बीपीले भन्नु भएछ, बीपी तपाईंले गल्ती गर्नुभयो भने निस्कँदा हिरो भएर निस्कनु हुन्छ, तर मैले गल्ती गरेर जेल परँे भने त त्यही नै सड्छु वा सकिन्छु । अनि बीपीले भन्नु भएछ, सरकार, म असफल भएँ भने विराटनगर मा खेतीपाती गरेर बस्छु, सरकार कहाँ राज हुन्छ रु बीपीले यति भन्न नपाउँदै राजा वीरेन्द्र उत्तेजित भएर जुरुक्क उठेछन् र भनेछन्, तिमीलाई थाहा छ, अहिले कोसँग कुरा गर्दैछौ रु म नेपालको राजा हुँ, राजा । बीपीले भन्नु भएछ, सरकारलाई पनि थाहा हुनुपर्छ कि सरकार पनि एउटा नेपालको राजनीतिज्ञसँग कुरा गर्दै होइबक्सन्छ । त्यसपछि बल्ल राजा चुप लागेछन् । यो प्रसङ्ग किन उठाइएको हो भने बीपीमा आफ्ना कुरा प्रष्टसँग राख्न सक्ने क्षमता थियो, चाहे राजा, नेहरु या माओत्सेतुङ जोसुकै किन नहोस् । यो गुण सबैमा हुँदैन । 
नेपालको उत्तर आधुनिक राजनीतिका जनक जननायक बीपीप्रति भावपूर्ण श्रद्धासुमन ।