चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।
बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, ‘मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।’ मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उहाँले बताउनुभयो । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले जानकारी दिए ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए । उनले भने, ‘पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ ।’ अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिएका छन् । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ ।
यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ईन्जिनियर शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले जानकारी दिए ।
सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उहाँको भनाइ छ । मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ साउन २०७७, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
पृथ्वी राजमार्गको अवरोध हट्यो
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो
पृथ्वी राजमार्गमा यात्रा सकसपूर्ण
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध