प्रचण्डले ओलीलाई किन यसो भने : ‘अब स्थायी समितिमै छलफल गरौं’

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, ०९ : ३०
प्रचण्डले ओलीलाई किन यसो भने :  ‘अब स्थायी समितिमै छलफल गरौं’

काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद लम्बिदा पार्टी स्थायी समिति बैठक झण्डै तीन साता यता बस्नै सकेको छैन् । पटक पटक मिति तोकिने तर बैठक नबस्ने रोगका कारण नेकपाको स्थायी समितिलाई ब्यङग्य नै गर्न थालिएको छ, स्थगित समिति । हुन पनि यो बीचमा ६ पटक मिति तोकिदै स्थगित भएर अहिले सातौ पटकलाई बैठकको मिति तोकिएको छ, साउन ६ का लागि । 

यो बीचमा विवाद समाधानको प्रयासका लागि दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र प्रचण्ड अनेक पटक वार्तामा बसे । समझदारीका लागि अधिकतम प्रयास र छलफलहरु पनि गरे । तर ओलीले विवादभित्र पनि आफु अनुकुल बनाउन अनेक षडयन्त्र, तानावाना मात्रै बुन्ने काम गर्न थालेपछि नेकपाका नेताहरु समेत दिक्क मान्न थालिसकेका छन् ।  गत वैशाखमा उनको राजीनामा पार्टी बैठकमा माग हुँदा उनले सासंद नै नभएका उपाध्यक्ष वामदेव गौतमलाई अबको प्रधानमन्त्री बनाउने प्रस्ताव गरे ।

भोलिपल्टै आफनो अडानबाट पछि हटेर उनले टियरग्याँस मात्र प्रहार गरेको इतर नेताहरु तितरवितर भईहाले भन्ने अभिब्यक्ति नै नेताहरुलाई दिए ।  त्यसबेला उनले पार्टी सचिवालयमा उठेको आफ्नो राजीनामाको संकट टारेका थिए । अहिले पनि उनले मंसिरमै महाधिवशेनको प्रस्ताव गरेर जाऔं भन्दै नयाँ फन्डा मात्र अगाडी सारेका छैनन् की त्यसमा आफनो एकल प्रस्तावमा अर्का अध्यक्ष प्रचण्डको समेत समर्थन रहेको देखाउदै विवाद मिलिसकेको प्रचारबाजी गराए ।

 पार्टीभित्र छलफलमा मात्र आएको ओलीको त्यो प्रस्तावमा सहमति नै भईसकेको जस्तो गरी राष्ट्रपति विद्या भण्डारी सम्ममा झुक्याइएर अध्यक्ष प्रचण्डलाई पुर्याउने र आफु इतर बनेको नेताहरुको गठबन्धन भत्काउने अस्त्रका रुपमा ओलीले अर्ली महाधिवशेनको प्रस्ताव अगाडी सारेका थिए ।  सहमति जुटेको जस्ता ओली पक्षको प्रचारबाजी पछि आइतबार दिनभर जसो प्रचण्डले आफु निकट नेताहरुलाई कुनै सहमति नभएको भन्दै प्रष्टिकरण दिईरहनु परेको थियो । त्यसपछि ओली भेट्न पुगेका प्रचण्डले अब भने पार्टी स्थायी समिति बैठक गोलचक्करमै राख्न नसक्ने प्रष्ट अडान राखेको स्रोतले बताएको छ ।

स्थायी समिति अव सहमतिका नाममा रोकेर राख्न सकिन्न, छलफलमा आएका विषयलाई पनि सहमति भनेर गलत ढंगले प्रचारबाजी गर्ने काम समेत तपाई (प्रधानमन्त्री) को तर्फबाट भयो, यो राम्रो भएन, अब बैठकको प्रक्रियाबाटै जाऔं, त्यही छलफल र बहस गरौं, एउटा विधिवत् निर्णयमा पुग्यौं, प्रचण्डले ओलीसँग भने । नेकपाको स्थायी समिति बैठक असार १८ यता स्थगित भएको भएै छ । अब बैठक नरोक्ने योजनामा प्रचण्ड पुगेका छन् । उनलाई पार्टीका अन्य नेताहरुले पनि अब धेरै समय बैठक रोकेर मात्र जान नसकिने भन्दै बैठकलाई निरन्तरता दिन दबाब बढाउन थालेका छन् । आइतबार उनलाई निवासमा भेट्न पुगेका स्थायी समितिका सदस्यहरुले पनि त्यही सुझाव दिएका छन् ।

अब स्थायी समितिमा प्रस्तुत भएका एजेण्डामा केन्द्रीत रहेर बहस गराउनुपर्छ, त्यही छलफल पछि आउने निश्र्कषका आधारमा पार्टीले एउटा निर्णय लिएर जानुपर्छ, प्रचण्डलाई उनी निकट नेताहरुको दबाब छ । प्रचण्डले पनि नेताहरुको त्यही सुझावका आधारमा प्रधानमन्त्री ओलीसँग आइतबार साँझ ३ घण्टा लामो छलफलका क्रममा अब पार्टी बैठक रोक्न नहुने र निर्णय बैठकबाटै गरेर जाने कुरा राखेका थिए । ओली भने अझै सहमति दुई अध्यक्ष बसेरै खोजी गरौं भन्ने पक्षमा उभिईरहेका छन् । 

मंसिरमा महाधिवेशन गर्ने भनी ओलीले ल्याएको प्रस्तावमा पनि प्रचण्डले आइतबारको छलफलमा सम्भव नभएको प्रष्ट धारणा राखिदिएका छन् । मंसिरमा महाधिवशेन गर्ने कुरा यो अल्मलाउने प्रपन्चमात्र हो, त्यो कसरी सम्भव छ ? प्रचण्डले ओलीसँग भने, तपाई हामीबीच फाटो पार्ने, साँच्चै महाधिवेशन गर्ने तिर भन्दा पनि हामीबीचमा अविश्वास सिर्जना गर्ने र आफनो सत्ता टिकाउने षडयन्त्रमा लाग्नुभएको छ । यो अब स्वीकार्य हुन्न । प्रचण्डले महाधिवशेन निश्चित विधि र प्रक्रिया पूरा गरेर तयारीका आधारमा मात्रै गर्न सम्भव रहेको भन्दै मंसिरमा महाधिवशेन गर्न कसरी सम्भव हुन्छ, त्यसको प्रष्ट खाका के छ ? त्यसको विश्वसनियता के हो ? भन्दै ओलीसँग प्रतिप्रश्न गरेका थिए ।

ओलीले भने प्रचण्डलाई आफुलाई सहयोग गरेमा आफुले पनि महाधिवशेनमा सहयोग गर्ने आश्वासन मात्र दिएका थिए । तीन घण्टा बालुवाटारमा छलफल गरेर निस्कदा सम्म ओली र प्रचण्डका बीचमा कुनै विवाद समाधानको सूत्र फेला पर्न सकेको छैन् । नेकपाको स्थायी समिति अब भोलि बिहान ११ बजेका लागि बोलाईएको छ । फेरि अब यो रोकिने या चल्ने भन्ने अझै अन्यौल नै छ ।
 

प्रतिक्रिया दिनुहोस