स्पेनिस ला लिगाको अन्तिम खेलमा बार्सिलोनाको शानदार जीत, कप्तान मेस्सीले पाए सर्वाधिक गोलकर्ताको उपाधी

एजेन्सी

सोमबार, ०५ साउन २०७७, ०९ : ०९
स्पेनिस ला लिगाको अन्तिम खेलमा बार्सिलोनाको शानदार जीत, कप्तान मेस्सीले पाए सर्वाधिक गोलकर्ताको उपाधी

एजेन्सी । स्पेनिस ला लिगाको यो सिजनको अन्तिम खेलमा बार्सिलोनाले अल्भासविरुद्ध शानदार जीत निकालेको छ ।  खेलमा एलाभेसलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि दुई गोल गरेका मेस्सी सिजनको सर्वाधिक गोलकर्ता समेतबनेका हुन् ।

अल्भासको घरेलु मैदान मेन्डीजोरोजामा भएको खेलमा बार्सिलोनाले जीत निकाल्दै यो सिजनको अन्त्य गरेको हो । ला लिगाको उपाधिबाट चुकेको बार्सिलोनाको अन्तिम खेलमा मेस्सीले दुई गोल गरे भने अंशु फाती, लुइस स्वारेज र नेल्सन सेमेडोले समान एक–एक गोल गरे ।

खेलको २४ औं मिनेटमा फातीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने मेस्सीले ३४ र ७५ औं मिनेटमा गोल गर्दा स्वारेजले ४४ औं र सेमेडोले ५७ औं मिनेटमा गोल गरेका थिए । अन्तिम खेलमा दुई गोल गरेका मेस्सीले ला लिगाको यो सिजनमा २५ गोल गरेका छन् ।

बार्सिलोनाले पछिल्लो १३ वर्षमा ५ पटक ला लिगाको उपाधि हात पारेको थियो । तर यो सिजनको ला लिगाको उपाधि एक खेल अगावै रियल मड्रिडले उचालिसकेको छ । ला लिगाको शीर्ष गोल कर्ता बनेका मेस्सीले सातौं पटक गोल्डेन बुट पीचीची अवार्ड  पाएका छन् ।   स्पेनिस पत्रिका मार्काले वर्षेनी प्रदान गर्ने अवार्ड जित्दै ला लिगामा उनले कीर्तिमान बनाएका छन् ।  क्लबले उपाधि नजित्दा आफूले पाउने यस्ता अवार्डले कुनै महत्व नराख्ने मेस्सीले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस