अयोध्या विवाद : नेपालीमाथि भारतमा दुव्र्यवहार गर्ने एकजना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, १४ : २२
अयोध्या विवाद : नेपालीमाथि भारतमा दुव्र्यवहार गर्ने एकजना पक्राउ

काठमाडौं । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्वयवहार गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सन्तोष पाण्डे रहेको भारतको वाराणसी (बनारस) प्रहरीले जनाएको छ ।

विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए ।

त्यो भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए । त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सो क्रममा सन्तोष पाण्डे नामका एक जना युवक पक्राउ परेको बनारस प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा बनारस प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार पाण्डेले नै सो भिडियो बनाएका थिए । उनको मोबाइलमा पनि सो भिडियो रहेको बताउँदै बनारस प्रहरीले भनेको छ, ‘छिमेकी देशका राजनीतिक वा अन्य व्यक्तिविरुद्ध गरिएको आपत्तिजनक टिप्पणीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ ।’

यो घटनामा संलग्न अधिकांश व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरु पनि छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ ।

भिडियो सार्वजनिक भएलगत्तै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका थिए । कुराकानीको क्रममा आदित्यनाथले घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै रहेको, नेपालकै रामसँग राजा जनककी छोरी सीताको बिहे भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि भारतमा नेपालीहरुमाथि दुर्व्यवहार सुरु भएको हो । भारतीय नागरिकहरुले बनारसस्थित मन्दिर र धर्मशालामा ओलीविरोधी पोष्टरहरु टाँसेका थिए ।