लिम्पियाधुरासमेतको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी

शुक्रबार, ०२ साउन २०७७, २१ : २५
लिम्पियाधुरासमेतको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सासहितको पुस्तक प्रकाशनको तयारीमा मन्त्रालय रहेको बताउनुभएको छ । 

आज  मन्त्रालयमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा मन्त्री अर्यालले लिम्पियाधुरा समेटीएको नक्सा सार्वजनिक हुनु ऐतिहासिक काम भन्दै त्यस विषयमा अध्ययन गरी पुस्तकनै सार्वजनिक गर्ने बताउनुभएको हो ।  

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो । राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै उहाँले विगतमा छुट्याइएको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको बताउनुभयो । 

मन्त्री अर्यालले मन्त्रालयले प्रकाशन गरेको भूमी शब्दकोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरुको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारवाही समेटिएको पुस्तक विमोचन गर्नुभएको हो । 

उहाँले भूमी शब्दकोषले भूमीसम्बन्धी शब्दका बारेमा ज्ञान बाँड्ने, कमीकमजोरी सच्याउने बताउँदै शब्दकोषमा छुटाइएको भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सासमेत समेटिएकाले पुस्तक विशेष रहेको जानकारी दिनुभयो । त्यस अवसरमा गण्डकी प्रदेशको सचिवका रुपमा सरुवा भएर जानुभएका मन्त्रालयबाट सहसचिव चन्द्रकला पौडेल र मन्त्रालयबाट अवकाश प्राप्त उपसचिव गोपाल गिरीलाई बिदाई गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस