अमिताभ र अभिषेक मुम्बईस्थित नानावती अस्पतालमा भर्ना

ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

एजेन्सी

आइतबार, २८ असार २०७७, १३ : ५४
अमिताभ र अभिषेक मुम्बईस्थित नानावती अस्पतालमा भर्ना

एजेन्सी । कोरोना संक्रमण पुष्टि भएपछि भारतका चर्चित सिने कलाकार अमिताभ बच्चन र उनका छोरा अभिशेष बच्चन शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका छन् ।  महराष्ट्र सरकार र अस्पतालका अनुसार अहिले दुवै जनाको अवस्था स्थिर छ ।  

महानायकका रूपमा परिचित ७७ वर्षीय अमिताभ बच्चनले शनिबार राति ट्विट गरेर आफूलाई कारोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । त्यसको केही मिनेटपछि उनका छोरा अभिनेता अभिषेक बच्चनले पनि ट्विट गर्दै आफू पनि कोरोना संक्रमित भएको जानकारी दिएका थिए । साथै दुवैले आफ्ना प्रशंसकलाई शान्त हुन आग्रह पनि गरेका छन् ।  

आइतबार नानावती अस्पताल र महराष्ट्र सरकारका अधिकारीले दुवैको स्वास्थ्य अवस्था स्थिर भएको जानकारी दिएको बिबिसी हिन्दीले जनाएको छ ।  मुम्बई नगर कार्यालयले अमिताभ बच्चनको घर आसपास व्यापक रूपमा स्यानिटाइजिङ सुरु गरेको छ । 

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो।

प्रतिक्रिया दिनुहोस