मनसुनपछिको विपद् : २९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता

रासस

शनिबार, २७ असार २०७७, २१ : २२
मनसुनपछिको विपद् : २९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता

फाइल फोटो

काठमाडौं । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु¥याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएको छ । मनसुन सक्रिय भएपछिको २९ दिनमा ती जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् । अझै ३२ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी र राहत तथा पुनस्र्थापनको काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार मुख्यगरी म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ । विपद्बाट मानवीय क्षति बेहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी म्याग्दीमा पहिरामा परेर २७ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा बढी पहिरामा परेर सिन्धुपाल्चोकमा २० जना हराइरहेका छन् । तराइका विभिन्न जिल्ला भने डुबान र कटानको समस्याबाट प्रभावित भएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो ।
 
असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए । बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा सात जनाले ज्यान गुमाएका छन् । त्यहाँ अझै एकजना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । बझाङ र पर्वतको भेल पहिरो अकल्पनीय रहेकाले त्यहाँको पहिरो अध्ययन गर्न प्राविधिक समूह नै पठाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार यसपटकको अपत्यारिलो ठाउँको पहिराले कहालिलाग्दो क्षति पु¥याएको छ । त्यसपछि बिहीबार र शुक्रबार मुलुकका विभिन्न स्थानमा पहिरो खस्दा धेरै जनधनको क्षति भयो ।

म्याग्दीमा २७ को मृत्यु
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले आज साँझ राससलाई दिनुभएको विवरणअनुसार जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी पहिरामा परेर २७ जनाको मृत्यु भएको छ । अझै चारजना बेपत्ता छन् । बेपत्ता भनिएका तीनजना सम्पर्कमा आएको ढकालले जानकारी दिनुभयो । 

“अहिलेसम्म प्रभावित ८९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । राहत सामग्री, त्रिपाल, खाद्यान्न, लत्ताकपडा, कम्बल आवश्यक मात्रामा हेलिकप्टरबाट पु¥याइसकिएको छ, हराइरहेकाको खोजी जारी छ”, प्रजिअ ढकालले भन्नुभयो । उहाँका अनुसार ५० बोरा चामल, आवश्यक मात्रामा नुन, तेल, मसला, चाउचाउ, पाल, कम्बल ब्ल्याङ्केट सबै पु¥याइसकिएको छ । म्याग्दीमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरी केहीलाई काठमाडौँ र पोखरा पठाइएको र सात जनाको बेनीमा उपचार भइरहेको छ । 

सिन्धुपाल्चोकमा अझै २० बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित जम्बुबजार र भोटेकोसी गाउँपालिकामा बाढी र पहिराका कारण तीन जनाको मृत्यु भएको र अझै २० जना बेपत्ता भएको प्रजिअ उमेशकुमार ढकालले जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रारम्भिक विवरणमा ५२ घर बाढी र पहिराले क्षति पु¥याएको छ । यहाँको प्रभावित क्षेत्रमा ६५ घर परिवारलाई पुग्ने राहत सामग्री तथा लत्ताकपडा जिल्लाबाट पठाइएको र खाद्यान्न भने स्थानीय पालिकाले व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । अहिले पनि सबै सुरक्षाकर्मीले त्यहाँ उद्धार जारी राखेका छन् । काठमाडौँबाट समेत उद्धार टोली पुगेर जम्बुबजारमा हराइरहेकाको खोजी जारी छ । हराएका भनिएका एक जना भने सम्पर्कमा आएको उहाँले जानकारी दिनुभयो । 

कास्कीमा सातको मृत्यु, १३ घाइते
कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडामा शुक्रबार पहिराले जनधनको क्षति पु¥याएको थियो । कास्कीमा सातको मृत्यु भएको र १३ जना घाइते रहेको प्रजिअ ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सराङ्कोटमा पाँच, हेम्जामा एक र पैतेडाँडामा एक जनाको मृत्यु भएको थियो ।

जाजरकोट नौ जनाको मृत्यु 
जाजरकोटबाट प्राप्त विवरणअनुसार नौ जनाको मृत्यु भएको छ । प्रजिअ जनकराज पन्तले राससलाई दिनुभएको जानकारीअनुसार त्यहाँको बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको हो । अझै छ जना बेपत्ता नै छन् । उनीहरुको खोजी जारी रहेको र राहत तथा पुनस्र्थापनको काम चलिरहेको छ ।

अन्य जिल्लामा पनि मानवीय क्षति 
प्राधिकरणबाट प्राप्त विवरणअनुसार विपद्मा परेर गुल्मीमा पाँचको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । यस्तै लम्जुङ्मा चारको मृत्यु भएको छ । रुकुम पश्चिम र दार्चुलामा दुई÷दुई जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी, सल्यान, कालीकोट, सुर्खेत, झापा र चितवनमा एक÷एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । म्याग्दीमा चार, बझाङ्मा एक, जाजरकोटमा छ, गुल्मीमा एक, सिन्धुपाल्चोकमा २० जना अझै बेपत्ता रहेको सम्बन्धित जिल्लाका प्रजिअले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस