बढ्दो विपद्जन्य कहर : अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

रासस

शनिबार, २७ असार २०७७, ०७ : ५७
बढ्दो विपद्जन्य कहर : अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

काठमाडौं । कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पु¥याएको छ । मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो । पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आँकलन थिएन । 

सिन्धुपाल्चोक जिल्लालाई मध्यम जोखिमको क्षेत्रमा राखिए पनि ठूलो क्षति हुन पुग्यो । विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाका अनुसार एकैठाउँमा धेरै पानी पर्दा नसोचेको क्षेत्रमा ठूलो क्षति भएको हो ।

मुलुकभर जेठ ३१ पछि शुक्रबारसम्म चट्याङबाहेकको ठूला घटनामा ४४ जनाले ज्यान गुमाएसकेका छन् भने ५४ जना बेपत्ता छन् । सबैभन्दा बढी मानवीय क्षति पहिरोले गराएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाए । जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो । असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए । बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा छ जनाले ज्यान गुमाए । 

बिहीबार सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पु¥याएको छ । त्यहाँ दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । शुक्रबार साँझसम्मको विवरण अनुसार म्याग्दी, लमजुङ, कास्की, जाजरकोटलगायत जिल्लामा गए राति आएको भारी वर्षासँगै पहिरो खस्दा २३ जनाले ज्यान गुमाएका छन् भने ३४ जना बेपत्ता छन् । कास्कीको सराङ्कोटमा त जन्मदिन मनाउने क्रममा नै पहिलो खसेर घर पुरेको छ ।

सिधुपाल्चोकको घटना होस्, या पर्वत र बझाङमा भएको सबै ठूला घटना भने भेल पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । एकै ठाउँमा ठूलो पानी पर्दा निकास व्यवस्थापन नभएर अकल्पनीय रुपमा घटना घटेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालिको पहिरोका घटना अकल्पनीय रहेको बताउनुहुन्छ । नसोचेको घटनाले ठूलो क्षति पुगेको छ ।

मुलुकभर बिहीबारदेखि चार दिन लगातार भारी वर्षा भई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पूर्वानुमान गरिएको पहिलो दिनमा नै विभिन्न स्थानमा जनधनको क्षति हुने गरी बाढी पहिरो गएको छ । तराईका क्षेत्रमा डुबान शुरु भएको छ भने मुलुकका ठूला नदीमा पानीको बहाब ह्वात्तै बढेको छ ।

प्रदेश नं १, २ वाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको जनाइएको छ । विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यो चारदिन कष्ट सहेरै भए पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई अपिल गर्नुहुन्छ । सार्वजनिक सूचना जारी गर्दा गर्दै पनि जनधनको ठूलो क्षति भएको छ । कतिपयले भने अटेर गरेकाले घटना भएको पाइएको छ ।

अहिले देशभर मनसुन सक्रिय भएसँगै भारी वर्षा हुँदा मुलुकका नदी ह्वात्तै बढेको छ । तराई क्षेत्र डुबान र पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोका घटना देखिएको छ । अझै वर्षा जारी रहेको र जमिन गलिसकेकाले थप क्षति पु¥याउने अनुमान गरिएको छ । 

विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा धेरै वर्षा मापन गरिएको छ । त्यहाँ २५०.९ मिलिमिटर वर्षा भएको छ । अन्य दुई केन्द्रमा २०० मिलिमिटर वर्षा भएको छ । त्यस्तै दरबाङ स्टेशनमा १५०.६, खुदीमा १४९.४, स्याङ्जामा १४८.६, बर्दघाटमा १५०.८ र बेसीसहरमा १६९.४ मिलिमिटर अत्यधिक वर्षा भएको छ । 

सप्तकोशीमा बाढी बढेपछि भारतर्फका ३८ ढोका खोलिएका छन् । कोशी सतर्कता तहतर्फ अघि बढेको छ । सातमिटर खतराको तह रहेको कोशीको जलसतह शुक्रबार दिउँसो ६.२३ मिटरमाथि पुगेको छ । मध्य क्षेत्रमा रहेको नारायणी नदीको बहावले सतर्कताको तह पार गरेर खतरातर्फ अघि बढेको जनाइएको छ । देवघाटस्थित स्टेशनमा पनि सतर्कता तह पार गरेर ७.६८ मिटरमाथि बहाव भइरहेको छ ।

अबको तीन दिन कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा प्रदेश १ र २ मा वाग्मती, गण्डकी र प्रदेश ५ भई बग्ने मुख्य र सहायक नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्र र समथल तथा तल्लो तहमा सतर्कता अपनाउन भनिएको छ । मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले विभिन्न क्षेत्रमा हजारौँको एसएमएस पठाएर सतर्कता अपनाउन भनेको छ । 

आजको मौसम 
देशभर सामान्यदेखि पूर्णबदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानमा र  प्रदेश ५, सुदूरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । 

असार २८ को मौसम 
देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशमा हल्कादेखि केही स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । असार २९ गते पनि देशभर सामान्यदेखि पूर्णबदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस