तरकारी आयातमा मासिक एक अर्ब: यसकारण बढ्दैछ परनिर्भरता

बुधबार, ०६ मंसिर २०७४, ०७ : ४२
तरकारी आयातमा मासिक एक अर्ब: यसकारण बढ्दैछ परनिर्भरता

राजनीतिक दलहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाइरहँदा नेपालको परनिर्भरता भने झन्झन् बढ्दै गएको देखिएको छ । स्वदेशमै उत्पादन र निर्यातको पर्याप्त सम्भावना भएका दैनिक उपभोग्य वस्तुमा समेत नेपालको परनिर्भरता अत्यासलाग्दो देखिएको खबर आजको नयाँ पत्रिकामा खबर छ ।

यसको पछिल्लो उदाहरण तरकारी बनेको छ । नेपालीहरूले दैनिक सरदर ३ करोड २२ लाख रुपैयाँबराबरको आयातीत तरकारी खाने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो तीन महिना (साउनदेखि असोजसम्ममा) भारतबाट २ अर्ब ९० करोड ३८ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले बढी हो । नेपालले गत आव ०७३-७४ को पहिलो तीन महिनामा २ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात गरेको थियो ।

वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)का कार्यकारी निर्देशक जयमुकुन्द खनालका अनुसार,
-नेपालीले काम गर्न छाडेकै कारण तरकारीको आयात बढेको हो ।
-नेपालीले खेती कर्म गर्न नै छाडिसके ।
-रेमिट्यान्सको आयबाट उपभोग्य वस्तु खरिद गर्ने प्रवृत्ति बढिरहेको छ ।
-यही कारण तरकारी, चामल तथा अन्नबालीको आयात उच्चदरमा बढिरहेको छ ।
-विदेशमा जस्तोसुकै दुःख गर्न तयार हुने, तर स्वदेशमा उद्यम तथा खेती–किसानी गर्न लजाउने प्रवृत्तिले नेपालको परनिर्भरता झन्झन् बढ्दै गएको छ ।

तीन महिनामा सवा पाँच अर्बको चामल
समीक्षा अवधिमा नेपालमा सवा ५ अर्ब रुपैयाँबराबरको चामल आयात भएको छ । कुनै समय भारतमा धान–चामल निर्यात गर्ने नेपालले पछिल्लो तीन महिनामा ५ अर्ब ३७ करोड ६१ लाख रुपैयाँबराबरको चामल आयात गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.९ प्रतिशतले बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस