बाह्रबिसेमा बाढी : मेयर भन्छन् – "उद्धार गर्नै कठिन भयो"

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, १३ : ५२
बाह्रबिसेमा बाढी : मेयर भन्छन् – "उद्धार गर्नै कठिन भयो"

सिन्धुपाल्चोक । गएराति परेको भीषण वर्षा र त्यसपछि आएको बाढीले बाह्रबिसे नगरपालिकाको २ र ५ नम्बर वडामा बढी क्षति भएको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पा भन्छन् – ‘बाढीले बर्बाद पारेको छ । पीडितको उद्धार गर्नै कठिन भयो ।’

मेयर निमाफुन्जो शेर्पाका अनुसार घटनामा १६ जना बेपत्ता भएका छन् । ‘२ जनाको शव भेटिएको छ । बाढीले पक्की पुल समेत बगाएको छ’ मेयर शेर्पाले भने, ‘बिहीबार ११ बजेसम्मको तथ्यांक संकलनमा ११ वटा घर पूरै क्षतिग्रस्त भएका छन् । फकथोल भन्ने स्थानमा रहेको वडानम्बर ५ को पक्की पुल बगाएको छ ।’

स्थानीयसहित र नेपाल प्रहरी र नेपाली सेना उद्धारमा खटिएपनि अवरुद्ध बाटो, पहिरो र मौसमले समेत साथ नदिँदा समस्या भएको छ । उनले चार ठाउँ भन्दा बढी स्थानमा ठाडो खोलले क्षति पुर्याएको छ भने गाडी र एम्बुलेन्स समेत जाने अवस्था छैन । ‘मानिस समेत हिँडेर घटनास्थल पुग्न सक्ने अवस्था छैन । अहिले हामी गाउँगाउँबाट छिरेर स्टेचरमा बोकेर विरामीहरु बोकेर ल्याइरहेका छौ’, मेयर शेर्पाको भनाइ छ । 

उनले बाह्रबिसे नगरपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको पुलसहित चालीस मिटर सडक नै बाढीले बगाएको छ । त्यस्तै वडा नम्बर ५ को जम्बु भन्ने स्थानमा मानवीय क्षती भएको पनि मेयर शेर्पाले जानकारी दिए । घटनामा चार जना घाइते भएका छन् । 
त्यसैगरी अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इलाका प्रहरी कार्यालय आसपास लगायत जम्बु बजारसम्मका सडक र पुल बाढीले बगाउनुका साथै जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को समेत खस्न थालेपछि तटीय क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस