व्यवसायमा परेको असरप्रति गम्भीर बन्न ध्यानाकर्षण

रासस

बुधबार, २४ असार २०७७, २१ : ०४
व्यवसायमा परेको असरप्रति गम्भीर बन्न ध्यानाकर्षण

फाईल फोटो

काठमाडौं । गण्डकी प्रदेशसभाको आजको बैठकमा बन्दाबन्दीका कारण पर्यटन तथा यातायातलगायत व्यवसायमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।बैठकको विशेष समयमा सदस्यले कोरोनाको कारण मानव जीवनमा गम्भीर असर परेको अवस्थामा पर्यटन तथा यातायातलगायतका क्षेत्र विशेष मारमा परेको बताएका छन् ।

प्रदेशसभा सदस्य राजीव पहारीले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्दै पर्यटन व्यवसायीलाई लगानीका लागि आह्वान गरेको बताउनुभयो । सरकारको आह्वानअनुसार लगानी गरिए पनि कोरोनाको रोकथामका लागि २०७६ चैत ११ गतदेखि शुरु लकडाउन अहिले पनि जारी रहेको अवस्थामा व्यवसायीलाई माघदेखि असार मसान्तसम्मको साँवाब्याज चुक्ता गर्न फोनका घण्टी बज्न थालेपछि यतिखेर पर्यटन व्यवसायी ठूलो चिन्तामा परिरहेको उहाँले बताउनुभयो ।

सदस्य पहारीले लकडाउनको पालना गरिरहेका अवस्थामा बैंकहरूले नतिरेमा कालो सूचीमा पर्ने भन्दै ताकेता गरिरहँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा व्यवसायी पुगेको बताउँदै  सङ्घले छुट्याएको पुनःकर्जा रकम पाँच प्रतिशत ब्याजमा मझौला र मध्यम वर्गका व्यवसायीले पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारको व्यवसाय जीवन रक्षा कोषबाट पनि साना तथा मझौला व्यवसायीलाई पाँच प्रतिशत व्याजमा तीनदेखि पाँच वर्षसम्मका लागि उपलब्ध गराउन सके व्यवसाय नै पलायन हुने अवस्था नआउने उहाँले बताउनुभयो । 

अर्का सदस्य विन्दुकुमार थापाले पोखरामा दुई हजार २०० ट्याक्सी र ५०० माइक्रो बस सञ्चालनमा रहेको बताउँदै  यीनमा ८० प्रतिशत स्वरोजगार ९आफ्नो गाडी आफैँ चलाउने० २० प्रतिशत साहुको गाडी चलाउने रहेको जानकारी दिनुभयो । यसमा १३ हजार ५०० प्रत्यक्ष आश्रित रहेको र परोक्षरुपमा दुई लाख आश्रित रहेको उल्लेख गर्दै उहाँले कोरोनाको कारण यतिखेर यातायात व्यवसाय धरासायी बनेकाले व्यवसायीले बैंक व्याज र किस्ता बुझाउन नसक्दा चाबी बुझाउने अवस्था आएको प्रति गम्भीर बन्न आग्रह सरकारलाई गर्नुभयो । 

सदस्य पियारी थापाले लामो समयको बन्दाबन्दीका कारण महिला तथा बालबालिकामाथि जघन्य अपराध भएको बताउँदै देशका जुनसुकै कुनामा हुने यस किसिमका अपराध क्षम्य नहुने धारणा राख्नुभयो ।

सदस्य पुष्पा केसी भण्डारीले कोरोनाका कारण कतिपय विकास निर्माणका योजना प्रभावित भएको बताउँदै समय र परिस्थितिलाई ध्यानमा राखी कोरोनाका कारण सम्पन्न हुन नसकेको योजनाका लागि केही समय थप्नुपर्ने धारणा राख्नुभयो ।

सदस्य मेखलाल श्रेष्ठले कोरोनाको महामारीका कारण जनजीवन तहसनहस भएका अवस्थामा जनताको आवाज उठाउने स्थल संसद्को अधिवशेन हठात् स्थगित गरिएको बताउनुभयो ।आजको बैठकको विशेष समयमा खिमविक्रम शाही र  हरिशरण आचार्यले बोल्नुभएको थियो । शून्य समयमा कृष्णबहादुर थापा, प्रकाशचन्द्र दवाडी, जुनादेवी नेपाली, मीना गुरुङलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।