‘सरकार, हामीलाई कोरिया जान देऊ’

सफल खबर संवाददाता

बुधबार, २४ असार २०७७, ११ : ३९
‘सरकार, हामीलाई कोरिया जान देऊ’

काठमाडौं । ईपीएस रोजगार प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरुले आफूहरु नियमित उडानबाटै कोरिया जान पाउनु पर्ने माग राख्दै बुधबार काठमाडौँमा प्रदर्शन गरेका छन् ।

रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सृजना गर्न माग गर्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु‘’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ लगायतका नारा लेखिएको प्लेकार्ड समातेका थिए ।

 २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागि रामहरी देवकोटाले बताए । सरकारले आफ्ना मागहरु पुरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनले बताए ।