नेकपालाई फुटबाट जोगाउन चितवनमा दबाब अभियान: व्यक्ति होइन, नीति प्रधान पार्टी निर्माण गर्न जोड

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, १६ : १६
नेकपालाई फुटबाट जोगाउन चितवनमा दबाब अभियान: व्यक्ति होइन, नीति प्रधान पार्टी निर्माण गर्न जोड

चितवन । नेकपा पार्टी एकताको लागि शीर्ष नेतृत्वलाई देशव्यापीरुपमा नेकपा पार्टीलाई एकता कायमै राख्नको लागि चौतर्फी दबाब सिर्जना गरिएको छ । चितवनमा पनि नेकपा पार्टीलाई फुटबाट जोगाउन युवा संगठन तथा विद्यार्थीहरुले दबाब अभियान सुरु गरेका छन् । 

दबाव अभियानअन्तर्गत नै आज युवाहरुले नीति र विधि प्रधान पार्टी निर्माणको लागि नेकपाको जिल्ला नेतृत्वलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझाउनुअघि युवाहरुले कृष्णपुरस्थित पार्टी कार्यालयमा धर्नासमेत दिएका थिए । राष्ट्रिय युवा संघ चितवनका संयोजक मधु न्यौपानेका अनुसार नेकपा पार्टीलाई फुटबाट जोगाउन शीर्ष नेतृत्वलाई दबाब सिर्जना गर्न अभियान सुरु गरेका छौँ ।

उनका अनुसार चितवनमा युवा समूहले गरेको दबाबले पार्टी नेतृत्वलाई एक ढिक्का बनाउँछ ।उनले चितवनको जिल्ला कमिटीलाई पार्टीलाई फुटबाट जोगाउन दबाबस्वरुप ज्ञापनपत्र बुझाए । सिंगो पार्टीलाई मजबुद र एकताबद्ध बनाउन जिल्ला पार्टीमार्फत पार्टी शीर्ष नेतृत्वलाई ध्यानकर्षणसहितको ज्ञापनपत्र बुझाएको अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनका संयोजक यदुमणि कँडेलले जानकारी दिए । 

उनले पार्टी विधान, विधि र मूल्य मान्यताअनुसार संस्थागतरुपमा चल्नुपर्छ भन्ने हाम्रो अभिमत रहेको बताए । उनले भने, ‘पार्टीको एकता पनि सम्पन्न नभइसकेको अवस्थामा उपल्लो कमिटी र शीर्ष तहमा भइरहेको विवादले सिंगो कार्यकर्ता पंक्ति चिन्तित भएको अवस्था हो, त्यसकारण पार्टीलाई एकताबद्ध बनाइराख्न हाम्रो निरन्तर खबरदारी रहन्छ ।

ज्ञापनपत्रमा राष्ट्रिय युवा संघ चितवनका संयोजक मधु न्यौपाने, अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनका संयोजक यदुमणि कँडेल, अनेरास्ववियु चितवनका सहसंयोजक वसन्त आचार्य, राष्ट्रिय युवा संघ चितवनका सञ्जीव लामिछाने, रोहित सुवेदीलगायतले हस्ताक्षर गरेका थिए । उनीहरुले नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजित, नेकपा जिल्ला इन्चार्ज कृष्ण खनाल, नेकपा नेता बद्री तिमिल्सिनालगायतलाई ज्ञापनपत्र बुझाएका थिए । 

ज्ञापनपत्र लिँदै जिल्ला अध्यक्ष इन्द्रजितले चितवनका युवाहरुको दबाब अभियानले पार्टीलाई एकताबद्ध बनाइराख्ने विश्वास व्यक्त गरे । उनले पार्टी एकताको लागि बुझाइएको ज्ञापनपत्र केन्द्रीय कार्यालय धुम्बारहीमा पु-याउने प्रतिबद्धता गरे ।

‘युवाहरुको यस ध्यानाकर्षणले पार्टीका शीर्ष नेतृत्वलाई एकताबद्धको लागि थप दबाब पुग्नेछ’ अध्यक्ष इन्द्रजितले भने । नेकपाका जिल्ला इन्चार्ज तथा वागमती प्रदेशका सांसद कृष्ण खनालले पार्टीलाई फुटाउने तत्व यस दबाबबाट परास्त भएर जाने विश्वास प्रकट गरे । उनले भने, ‘दबाबले पार्टी एकताबद्ध हुन्छ, दबाबलाई जारी राख्न जरुरी छ ।’  

युवा तथा विद्यार्थीहरु पार्टीलाई एकताबद्ध बनाउन दबाबस्वरुप विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रेका थिए । पार्टी कार्यालयमा उनीहरुले केहीबरे धर्नासहित नारा लगाएका थिए । उनीहरुले ‘एमसिसी खारेज गर’, ‘पार्टी एकता जिन्दाबाद’, ‘व्यक्ति होइन, नीति प्रधान पार्टी निर्माण गरौँ’, ‘नागरिकता विधेयक पारित गर’, ‘संसद अधिवेशन चालु गर’, ‘म सुदृढ, जनवादी केन्द्रीयताको पार्टी चाहन्छु, नेता तिमी के चाहन्छौँ’, ‘फुटवादीहरु होशियार’, ‘नेकपा जिन्दावाद’लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस