१६ जना विदेशी नागरिकलाई नागरिकता बनाईदिएको आरोपमा प्रशासकिय अधिकृत पक्राउ

पत्रपत्रिकाबाट

सोमबार, २२ असार २०७७, ०८ : ०३
१६ जना विदेशी नागरिकलाई नागरिकता बनाईदिएको आरोपमा प्रशासकिय अधिकृत पक्राउ

बिर्तामोड । झुटा विवरण पेश गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता बनाइदिएको कसुरमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरीबाट खटिएका प्रहरी टोलीले शनिबार काठमाडौंको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए । उनलाई आइतबार आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

गत मंसिर १० गते आचार्यसहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ । कर्मचारीसहित बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका ९ का वडाध्यक्ष शनिलाल राजवंशी समेत उक्त घटनामा संलग्न रहेको प्रहरीको आरोप छ ।

घटनामा संलग्न भएको आरोपमा ४६ जनामाथि उजुरी परेको छ । उजुरीलगत्तै दुवै वडाध्यक्ष फरार छन्। प्रहरीको अनुसन्धानमा झुटा विवरण पेश गरी नागरिकता लिनेमा भारतीय, भुटानी र तिब्बती नागरिक रहेको उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस