जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

रासस

शनिबार, २० असार २०७७, २० : २४
जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

काठमाडौं । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको एकताको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका केन्द्रीय सदस्य तथा सांसद त्यस एकतालाई जोगाउन सक्रिय भएका छन् ।

उनीहरुले पार्टीमा देखिएको समस्यालाई पार्टीको विधि र विधानबाट समाधान गर्न शीर्ष नेतृत्वलाई दबाब दिनका लागि दैनिक विभिन्न भेला, बैठक र धर्ना जस्ता कार्यक्रम गर्न थालेका छन् । पार्टीको एकता कायम राख्नुपर्ने माग राख्दै पार्टी मुख्यालय धुम्रबराहीमा हिजोदेखि केन्द्रीय सदस्य धर्नामा बसेका छन् । 

यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री तथा पार्टीका स्थायी कमिटी सदस्य धनश्याम भुसालको निजी निवासमा पनि हिजो पार्टी एकतालाई कुनै पनि हालतमा टुट्न दिन हुन्न भन्दै तेस्रो तहका नेताको भेला भएको थियो । यसरी पार्टी एकतामा देखिएको समस्यालाई समाधान गर्नका लागि पार्टीका दोस्रोदेखि केन्द्रीय सदस्य सम्मका नेता विभिन्न भेला, बैठक आयोजना गर्दै आइरहेका छन् । 

 विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई हाल नेकपामा समस्या आएपछि युवा नेता त्यसलाई समाधान गरेर लैजानुपर्नेमा जोेड दिनुभएको छ । पार्टी एकतापछि बनेको नेकपाको अहिले एकल सरकार रहेको छ । विसं २०७४ मा भएको निर्वाचनमा झण्डै दुई तिहाइ जनमत पाएको नेकपाको अहिले सङ्घ र छ वटा प्रदेशमा आफ्नै सरकार छ भने ७५३ स्थानीय तहमध्ये धेरैमा पनि आफ्नै सरकार रहेको छ । 

अहिलेको एकतामा समस्या आए कम्युनिष्ट आन्दोलनलाई नै धक्का पुग्ने भन्दै पार्टीका युवा नेता एकता जोगाउन लागेकाछन ।  अहिले पार्टी एकताको विषयलाई  लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालबीच विवाद उत्पन्न भएको छ । आजै बिहान मात्रै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निवासमा पनि पार्टीका केन्द्रीय सदस्य रहेका सांसदले पार्टी भित्रको देखिएको समाधान अन्त्य गर्नका लागि शीर्ष नेतालाई दबाब दिने बैठक आयोजना गरेका हुन   । बैठकले पार्टीमा शीर्ष नेतृत्वले एकअर्कालाई आरोप–प्रत्यारोप बन्द गरी पार्टीका विधि र विधानबाट समस्या खोज्न आग्रह गर्ने निर्णय गरेको छ । 

सांसद तथा केन्द्रीय सदस्य झपड रावलले पार्टीमा अहिले देखिएको विवादले सरकार र जनतालाई क्षति पु¥याउने भएकाले त्यस्तो विवाद विधि र विधानबाट समाधान गर्न दबाब दिने निर्णय गरेको बताए । “पार्टी एकतामा देखिएको विवादले मुलुक, जनता र कार्यकर्ताका लागि दुःखद् हो । यसले मुलुकलाई फाइदा गर्दैनन्,” उहाँले भन्नुभयो, “त्यसैले शीर्ष नेतालाई पार्टीको विधि र विधानबाट समाधान खोज्न दबाब दिनका लागि बैठक आयोजना  गरेका हौँ ।”

बैठकले चालू रहेको स्थायी कमिटी बैठकको एजेन्डाबाट नै पार्टीमा अहिले देखिएका समस्या समाधान गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ । “हामी चाँडै नै पार्टी अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल भेट्छौँ”, उहाँले भन्नुभयो, “भेटमा उहाँहरुलाई सडकमा आरोप–प्रत्यारोप स्थायी कमिटी बैठकबाट समाधान खोज्न दबाब दिनेछौँ ।” उहाँहरुबीच कुनै पनि नेताको पक्ष विपक्षमा नलागी पार्टी एकतालाई जोगाउने सहमतिसमेत भएको छ । भेलामा यज्ञराज सुनुवार, गणेश पहाडी, टेकबहादुर बस्नेत, श्याम श्रेष्ठ र सुरेश राईको सहभागी थियो । 

नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफूहरु शीर्ष नेताभन्दा नजीक रहेको र उनीहरुको मनोभाव बुझेकाले पार्टीलाई दुर्घटनाबाट जोगाउन बैठक तथा छलफल गर्ने गरेको बताउछन । “शीर्ष नेताले पार्टीबारे मनोगत निर्णय लिए भने त्यसले पार्टी एकतामा ठूलो असर पर्दछ”, उहाँले भन्नुभयो, “त्यसैले शीर्ष नेतालाई मनोगत निर्णय गर्न नदिनका लागि बैठक, छलफल भेला आयोजना गर्ने गरेका छौँ ।”

पार्टीका अर्का नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीमा एकताको सङ्कट परेको बेला पार्टीभित्रका युवा नेता बैठक गरेर पार्टी एकता जोगाउन शीर्ष नेतालाई दबाब दिने गरेको बताए । उन्लेअहिले पनि देशभरिका युवा नेतासँग भर्चुअल बैठक र उपत्यकामा रहेका युवा नेता पार्टी एकता कायम राख्न पार्टी मुख्यालय गएर धर्ना दिएको बताए ।  “जब जब पार्टी एकता सङ्कटमा पर्दछ । त्यति बेला हामी युवा नेता एकजुट भएर पार्टी एकताका पक्षमा शीर्ष नेतालाई दबाब दिने  गर्दछौँ”, उहाँले भन्नुभयो, “अहिले पनि हामी पार्टी विभाजन नभई एकताको सन्देश दिनका लागि एकजुट भएका छाँै ।”