काठमाडौँ । मुलुकको अन्न भण्डारका रूपमा रहेका प्रदेश २ र ५ का तराईका जिल्लामा शनिबार सलहका बथान आइपुगेको छ । बाली नष्ट गर्ने फट्यांग्राको हूल सर्लाही, बारा र पर्सामा शनिबार एकैसाथ देखिएको हो । सलह भेटिएलगत्तै प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राविधिकको टोली खटाएको छ ।
प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख कपिलवस्तु र पाल्पा पनि पसेको छ । शनिबार बिहान रूपन्देहीको भैरहवा, रोहिणी, ओमसतिया, तिलोत्तमा र देवदह क्षेत्रमा सलह देखियो । दिउँसो बुटवल, मर्चवार र लुम्बिनी क्षेत्रमा पनि देखिएको छ । मध्याह्नसम्म फाट्टफुट्ट देखिएको सलह दिउँसो साढे ३ बजेपछि हूलका हूल आकाशमा उडेको देखिएको थियो ।
प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि सीमा क्षेत्र हँुदै हूलका हूल सलह कीराले रूपन्देहीको आकाश ढाकेको बताए । बुटवल क्षेत्रमा धेरै देखिएको थियो । त्यो क्रम साँझसम्म पनि जारी छ । सलह बुटवलबाट पश्चिम र उत्तर दिशातर्फ लागेको निर्देशक देवकोटाले बताए । ‘पश्चिम गएको सलह कपिलवस्तु प्रवेश गरेको छ र उत्तरतिर पाल्पासम्म पुगेको छ,’ उनले भने । धेरै आकाशमै उडेको देखिएका छन् । रात परेपछि यी कीरा उड्न नसक्ने भएकाले शनिबार रूपन्देहीको आसपासमै धेरै बास बस्ने उनले बताए ।
उत्तरतिर चढेका सलह पहाड चढ्छन् वा फर्कन्छन् भन्नेमा विज्ञहरू अलमल छन् । ‘हूलका हूल सलह बुटवल र रूपन्देही जिल्लाका विभिन्न स्थानमा देखिएका छन् । साँझपख पाल्पा र कपिलवस्तुसम्म पुगेका छन्,’ कृषि विकास निर्देशक देवकोटाले भने, ‘यी रोकिन्छन् कि बाटो लाग्छन्, हामी त्यसको अध्ययनमै केन्द्रित छौं ।’
धान रोप्ने समय भएकाले तराईका धेरै खेत खाली छन् । खेतबारी खाली भएकाले धेरै कीरा आकाशमा मडारिएको हुन सक्ने विज्ञहरूको अनुमान छ । रूपन्देहीको देवदह, तिलोत्तमा, रोहिणीलगायत क्षेत्रका मकैबारी र तरकारी बारीमा भने सलह अडिएका छन् । देवदह सिक्टहनका अगुवा किसान राजेन्द्र यादवले खेतमा रहेको तरकारी सबै सलहले ढाकेको बताए । देवदहको चरंगे, खैरेनी, ओमसतियाको वनगाईलगायत क्षेत्रमा रहेका मकैबारी पनि सलह कीराले ढाकिएका छन् । रोप्न ठिक्क पारेको धानको बीउसमेत सलहले खान थालेपछि किसान पिरोलिएका छन् ।कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ असार २०७७, ०७ : २८
लेखकबाट थप