नारायणगढ–मुग्लिन सडकखण्डका १५ वटा पुल निर्माण प्रक्रिया सुरु

रासस

शुक्रबार, १२ असार २०७७, १४ : ५०
नारायणगढ–मुग्लिन सडकखण्डका १५ वटा पुल निर्माण प्रक्रिया सुरु

– नारायण अधिकारी
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ । बोलपत्र आह्वान भई सम्झौतासमेत भइसकेको छ । सडक विभागको पुल महाशाखा प्रमुख दीपक भट्टराईका अनुसार अनक कन्स्ट्रक्शनलाई ३३ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । सो कम्पनीले पुलको डिजाइन र निर्माण गर्नेछ । यसका लागि रु एक अर्ब २७ करोड पाँच लाखमा सम्झौता भएको उहाँले जानकारी दिनुभयो । 

    सम्झौतासँगै सो कम्पनीले सर्भेको काम थालेको छ । उहाँका अनुसार डिजाइनका लागि नौ महिनाको समय दिइएको छ । महाशाखाले डिजाइनलाई अनुमोदन गरेपछि पुल निर्माणको काम अघि बढ्नेछ । सो सडकको मुग्लिनबाट नारायणगढतर्फ आउँदाका तीन पुल खहरे खोला, चिसेन्जी र तुइन खोलाको चौडाइ नौ मिटर रहनेछ भने अन्य सबै पुलको ११ मिटर हुने उहाँले जानकारी दिनुभयो । ती तीन पुल अफ्ठ्यारो ठाउँमा भएकाले चौडाइ कम भएको हो । 

    पुलमा दोहोरो सवारीसाधन गुडेर छेउछेउमा फुटपाथ हुनेछ । लकडाउनका कारण तीव्र गतिमा काम गर्न नपाएको भए पनि ठेकेदार कम्पनीले आन्तरिक तयारी गरिरहेको छ । ती पुल विश्व बैंकको आर्थिक सहयोग प्राप्त हुने गरी निर्माण गर्न लागिएको हो । विश्व बैंकको प्रोग्राम फर रिजल्ट परियोजनाअन्तर्गत पुल निर्माण सम्पन्न भएपछि मूल्याङ्कन (भेरिफिकेशन) गरेरमात्र ऋण रकम भुक्तानी दिने गरी पुल बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

    यसअघि सो सडकखण्डका चारवटा पुल निर्माण थालिएकामा तीनवटा सम्पन्न भएको छ भने एउटा निर्माणाधीन रहेको छ । सो सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार बन्दै गरेको जलबिरेको पुलको ७४ प्रतिशत काम सम्पन्न भएको छ । लकडाउनसँगै कामदार नभएकाले काम प्रभावित भएको उहाँले जानकारी दिनुभयो । 

    सो सडकखण्ड विस्तार गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । यद्यपि पुल भने पाँचदेखि छ मिटर फराकिलो रहेका छन् । सडक फराकिलो र पुल साँघुरोसँगै जीर्ण हुँदा समस्या हुँदै आएको छ । समयमा काम भएमा अबको ३३ महिनापछि सो सडकका सबै पुल फराकिला र मजबुत हुनेछन् । यो सडक विस्तारसँगै पहिरो खस्न रोक्ने काम अन्तिम चरणमा पुगेको छ । चार किलो बाहेकका ठाउँमा पहिरो खस्न रोक्ने काम पनि सम्पन्न भएको खनालले जानकारी दिनुभयो । 

    यसै सडक हुँदै राजधानी प्रवेश र बाहिरिने गरिन्छ । यो सडकमा दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन् । (रासस)

प्रतिक्रिया दिनुहोस