काठमाडौं । सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना चालकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पास दुरूपयोग गर्ने दुई चालकलाई पक्राउ गरी कारवाही थालेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका–२ का ३७ वर्षीय सूर्यकिरण कर्माचार्य र कैलालीबाट काठमाडौँ आउँदै गरेको ना६ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी–१ का ३१ वर्षीय लोकबहादुर खत्री रहेका छन् ।
कर्माचार्यले भारतबाट आएका नेपालीलाई विभिन्न जिल्लामा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी रुपेडिया नाकाबाट तीन जना यात्रु तथा नेपालगञ्जबाट चार जना यात्रु ल्याएको फेला परेको छ । उनले उनीहरुबाट रु २१ हजार असुलेको पाइएको छ ।
खत्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौँबाट कृषि तथा पशुपक्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रु ल्याएको पाइएको छ । उनले रु १८ हजार भाडा लिएको पाइएको छ ।
सरकारले कोभिड–१९ रोकथामका लागि सङ्क्रामक रोग २०२० को दफा २ अन्तर्गत एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सवारी पास लागू गरेको छ ।
सोही सन्दर्भमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २०७७ जेठ २८ गतेको निर्णय नं १ (ड) मा यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने व्यवस्थासमेत गरेकामा ती चालकहरुले भाडा असुल गरी यात्रु ओसारपसार गरी कोभिड–१९ रोगको जोखिमलाई बेवास्ता गरेको पाइएको छ । उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन, २०२० मा उल्लेखित कानूनी व्यवस्थाको उल्लङ्घन गरेकाले आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०९ असार २०७७, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५० ग्राम सुनसहित विमानस्थलबाट २ जना पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
जुवातास खेलिरहेका १३ जना पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेकी शाही पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीका एक राजनीतिज्ञ सहायक पक्राउ