कोरोना भाइरस

यी हुन् काेराेेनाबारे प्रधानमन्त्री ओलीका तीन विवादास्पद अभिव्यक्ति

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०७७, ११ : ३२
यी हुन् काेराेेनाबारे प्रधानमन्त्री ओलीका तीन विवादास्पद अभिव्यक्ति

फाइल फाेटाे

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले लागु गरेको बन्दाबन्दीले तीन महिना पार गरेको छ । 

यो तीन महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे तीन विवादास्पद अभिव्यक्ति दिएका छन् । 

प्रधानमन्त्री ओलीका विवादास्पत तीन अभिव्यक्तिको यहाँ चिरफार गरिएको छ ।

कोरोना भाइरस रुघाखोकीजस्तो

असार ४ गते राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ूकोरोना ृभाइरसे भनेको एउटा रुघाखोकीजस्तो हो। लागिहाल्यो भने हाच्छिउँसाच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ।

प्रधानमन्त्रीले भनेजस्तो कोरोनाभाइरसलाई हल्का रूपमा लिन नहुने विज्ञहरूको राय छ । भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा भन्छिन्, "साधारण रुघाखोकीभन्दा यो धेरै नै फरक छ। यो भाइरसको हकमा कसलाई कुन लक्षण देखिन्छ भन्ने कुरा पनि हामीलाई अहिलेसम्म थाहा छैन। यो एकदमै नयाँ प्रकृतिको हुनाले हाच्छिउँ गरेर, तातो पानी खाएर उडाउन सकिँदैन ।"

इथिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनी पनि कोरोनाभाइरस रुघाखोकीजस्तो भएको तर्कसँग विमति राख्छन् । उनी भन्छन्, "कोरोनाभाइरस रुघाखोकीजस्तो सामान्य होइन। त्यति सामान्य भइदिएको भए र मृत्युदर कम भएको भए विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य क्षेत्रमा आपत्कालीन अवस्था घोषणा नै गर्नु पर्दैनथ्यो ।"

भारतबाट आएको भाइरस कडा

गत जेठ ६ गते संसद्‌मै बोल्ने क्रममा कोरोनाभाइरसको प्रकृतिबारे प्रधानमन्त्री ओलीले दिएको अर्को अभिव्यक्तिले पनि विभिन्न प्रतिक्रिया निम्त्यायो ।

कोरोनाभाइरसबारे उनले भनेका थिए, "वुहानबाट सङ्क्रमण भएर आएको अलि नरम देखिएको थियो। इटलीबाट आएको पनि अलि नरमै देखिएको थियो। दुबईबाट आएको पनि अलि नरमै देखिएको थियो। तर भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ।"

प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्तिबारे भारतीय सञ्चारमाध्यमहरूले पनि समाचार प्रकाशनरप्रसारण गरे । विज्ञहरू प्रधानमन्त्रीले भने जस्तै भारतबाट फर्केका नेपालीहरूमा देखिएको कोरोनाभाइरस सङ्क्रमण कडा खालको भए वा नभएको कुरा वैज्ञानिक रूपमा पुष्टि भइनसकेको बताउँछन् ।

"बाहिर देखिएको स्ट्रेन र भारतमा देखिएको स्ट्रेनमा फरक छैन। अहिलेसम्मका अनुसन्धानले त्यही कुरा देखाएका छन् । म्यूटेशन हुँदैमा भाइरस डरलाग्दो हुन्छ भन्ने पनि हुँदैन" डा. शर्मा भन्छिन् ।

हुन त नेपालमा हालसम्म पुष्टि भएका सङ्क्रमणमध्ये अधिकांश घटना भारतबाट फर्केका नेपालीसँग सम्बन्धित छन् । तर त्यस्तो देखिँदैमा भारतबाट आएको भाइरस कडा हो भन्न नसकिने विज्ञहरूको भनाइ छ। डा. मरासिनी भन्छन्, "फाटफुट हो कि भनेका छन्। तर यो भनेको माइलो भाइ, साहिँलो भाइजस्तै हुन्छ ।"

तातो पानीले भाइरस समाप्त हुन्छ

गत चैत महिनाको २९ गते प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओमार्फत्‌ छलफल गरे । त्यसक्रममा उनले तातो पानीले हात धुँदा कोरोनाभाइरसको बाहिरी तह पग्लिएर भाइरस समाप्त हुन सक्ने दाबी गरे।

प्रधानमन्त्री ओलीले भने, "जहाँ भाइरस छ भने पनि तातो पानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ त्यहीँ । मर्ने होइन, त्यसको जुन जीवतत्त्वको रूपमा त्यो बाहिरी लेयरको बोसीय तत्त्वले जे उपद्रो मच्चाउन सक्थ्यो, त्यो समाप्त हुन्छ ।"

भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माका अनुसार कतिपय भाइरस 'एन्भेल्पड' हुन्छन् भने कतिपय हुँदैनन्। "उहाँले भन्न खोजेको एन्भेल्पड भाइरस होला। तर भाइरसलाई मार्न तातो पानीमा कति समय राख्नुपर्छ कसरी राख्नुपर्छ भन्ने कुराको पनि एउटा प्रोटोकल हुन्छ" उनले भनिन्, "तातो पानी पिउँदैमा वा त्यसले धुँदैमा मर्छ भन्ने हुँदैन। अतः प्रधानमन्त्रीको यस सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको अभिव्यक्ति हल्का छ ।"

डा. शर्मासँग सहमति जनाउँदै डा. मरासिनी थप्छन्, "धेरै तातो पानीले त हात धुन सकिँदैन। मनतातो पानीले हात धोएर भाइरस मर्ने सम्भावना हुँदैन । भाइरस अथवा ब्याक्टेरिआ मर्नलाई कम्तीमा ७० डिग्री तापक्रम चाहिन्छ, अझ कुनै कुनैलाई मार्न त पानी नै उमाल्नुपर्छ ।"