मनसुनी प्रभाव देशभर रहेकाले अधिकांश स्थानमा वर्षाको अनुमान

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०७७, ०८ : ०४
मनसुनी प्रभाव देशभर रहेकाले अधिकांश स्थानमा वर्षाको अनुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  मनसुनी गतिविधि देशभर नै सक्रिय भएकोले अधिकांश स्थानमा वर्षा हुन सक्ने जनाएको छ । पूर्वबाट जुन १२ मा प्रवेश गरेको मनसुन सुदूरपश्चिमसम्म पुगिसकेको मौसमविदले बताएका छन् । 

‘सुदूरपश्चिममा पश्चिमी वायुको केही प्रभावसँगै आइतबार बेलुकादेखि पश्चिमी वायुलाई पूर्वी मनसुनी वायुले धकेलेको छ र सो क्षेत्रमा पनि मनसुन प्रवेश गरेको छ ।’ यसको अर्थ देशभर मनसुन सक्रिय भइरहेको भन्ने हो । मौसमविदका तर्क छ ।  देशभर नै मनसुनी झरी परिरहेको छ । हाल अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा पानी परिरहेको मौसमविद अर्यालले बताए । देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

सोमबार दिनभर पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले जानकारी दिए ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुनेछ ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना पनि रहेको जनाइएको छ । यस्तै ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस