‘एमसीसीलाई ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिँदै छ’

रासस

विहीबार, ०४ असार २०७७, २० : ५७
‘एमसीसीलाई ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिँदै छ’

फाईल फोटो

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई फरक कोणबाट अनावश्यक र उत्तेजक रुपमा प्रस्तुत गरिएकाले यसबारे काँग्रेसका सांसद र सिङ्गो पार्टी पङ्क्ति स्पष्ट हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।  

प्रतिष्ठानले एमसीसीका विषयमा पार्टीका सङ्घीय सांसदहरुसँग जुम प्रविधि मार्फत गरेको छलफल कार्यक्रममा उहाँले एमसीसीको बहस गर्दा २०४८ सालपछि अरुण तेस्रो जलविद्युत आयोजनाका विषयमा अनेक आपत्तिजनक होहल्ला र विरोध गर्नेहरुले नै दुई दशकपछि कुनै भारतीय कम्पनीलाई सो आयोजना जिम्मा दिएको तथ्यलाई भुल्नु नहुने बताउनुभयो । 

नेता निधिले त्यसबेला ‘अरुण तेस्रो’ आयोजना बन्न पाएको भए देशले विकासको महत्वपूर्ण आधार तयार पारिसकेको हुने थियो भन्नुभयो । अहिले एमसीसीलाई पनि त्यस समयको ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिएको हुनाले यसमा काँग्रेस गम्भीर रहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुहुने तत्कालीन अर्थमन्त्री एवम् काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रको विकास र हित प्रबद्र्धनका लागि तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ सबल बनाउन उक्त सम्झौता भएको बताउँदै सम्झौतामा कुनै पनि हालतमा राष्ट्रको स्वाभिमानमा आँच आउने काम नभएको स्पष्ट पार्नुभयो । 

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले नेपाली जनताको हितमा गरिएका विषयहरुलाई जनतासामु स्पष्ट गर्दै पार्टी अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । पार्टीका सचेतक पुष्पा भुसालले नेपालको आवश्यकता र स्वार्थअनुरुप भएका विषयहरुमा बखेडा खडा गरी राजनीति गर्नेहरुबाट नै मुलुकको अहित भइरहेको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एमसीसीका विषयमा योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा गोविन्द पोख्रेल र डा स्वर्णिम वाग्लेले सम्झौताको समग्र पक्षको चिरफार गर्नुभएको थियो । केन्द्रीय सदस्य, सांसद, प्रतिष्ठानका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको विषय सन्दर्भबारे प्रतिष्ठानका सदस्य राजु नेपालले सहजीकरण र नानुमैयाँ बाँस्तोलाले संयोजन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस