आज दिनभरिको मौसम कस्तो रहला ? भारी वर्षाको अनुमान, सतर्कता अपनाउन आग्रह

सफल खबर संवाददाता

विहीबार, ०४ असार २०७७, ०८ : ४०
आज दिनभरिको मौसम कस्तो रहला ? भारी वर्षाको अनुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम बाहेकका क्षेत्रमा मनसुनको प्रभाव परेकोले वर्षाको सम्भावना उच्च रहेको जनाएको छ । उच्च चापीय क्षेत्रको प्रभावका कारण कर्णालीसम्म पुगेको मनसुनी प्रणाली तत्काललाई अघि बढ्न नसकेको मौसमविदको भनाई छ । 

सुदूरपश्चिमी क्षेत्रमा वायुमण्डलको तल्लो तहमा पश्चिमी वायुको प्रभाव रहेकाले बदली भएको र पानी पर्ने गतिविधि सुरु जारी रहनेछ ।  पूर्वबाट जुन १२ मा प्रवेश गरेको मनसुन कर्णाली प्रदेशसम्म भने पुगेको छ । अहिले प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदलीको अवस्था छ । यस्तै प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली भएको छ । पूर्वका केही स्थानमा हाल वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुने मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुइ स्थानमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन् ।

राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा राति पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले जानकारी दिएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा राति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस