कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कन जहाज कुर्दै

पत्रपत्रिकाबाट

विहीबार, ०४ असार २०७७, ०७ : ४७
कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कन जहाज कुर्दै

काठमाडौँ । कुवेतको अब्दल्ली क्याम्पमा बसेको ५३ दिन बित्दा पनि ताप्लेजुङका टासी शेर्पालाई स्वदेश फिर्ने पालो कहिले आइपुग्छ भन्ने पत्तो छैन । इराकको सीमामा रहेको अब्दल्ली क्याम्पमा उनीजस्तै स्वदेश फिर्ने प्रतीक्षामा ४ सय ६७ जना छन् ।

उनीहरूलाई कुवेत सरकारले नेपाल पठाउने भन्दै वैशाख १४ गते अब्दल्ली क्याम्पमा लगेर राखेको थियो । ‘कुवेतले भिसा नभएकालाई आफ्नै खर्चमा पठाइदिने भनेपछि दंग पर्‍यौं तर कहिले पठाइदिन्छ भन्ने खबर छैन, साह्रै पीडा महसुस भइरहेको छ,’ उनले भने, ‘भोलि, पर्सि भन्दै दिन गनिरहेका छौं । हाम्रा लागि आउने जहाजको बाटो हेरिरहेका छौं ।’

भिसाविहीन भएका र रोजगारदाता छाडेर गएका २ हजार ९ सय ९१ जनालाई २० वटा अलग–अलग क्याम्पमा राखिएकामा बुधबारसमेत गरी चारवटा उडानमार्फत् ५ सय ९८ जना महिलालाई नेपाल पठाइएको छ । क्याम्पमा अब १ हजार ६ सय ८८ जना पुरुष र ७ सय ५ महिला गरी २ हजार ३ सय ९३ छन् । कुवेतले यस अवधिमा बुधबारको समेत गरी ४ वटा उडानमार्फत ५ सय ९८ जना महिलालाई मात्रै नेपाल पठाएको छ ।

कुवेतले माग गरेअनुसारको उद्धार उडान नपाउँदा क्याम्पमा बसेकाहरू झन् पीडित बन्दै गएका छन् । कुवेतले दैनिक तीन वटासम्म उडानको अनुमति माग गरे पनि सरकारले नियमित उडान अनुमति दिएको छैन । पहिलो पटक एकै दिन जेठ २९ गते दुईवटा, जेठ ३० गते एउटा उडान गरेपछि तेस्रोपटक पाँच दिनपछि अनुमति पाएको थियो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस