चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार १७ किलोमा चारदेखि चार दशमलव पाँच मिटर फराकिलो ४० मिटर लामो क्षेत्र धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसैगरी २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटरसम्म भासिएको छ । यस क्षेत्रमा सडक १२ मिटर फराकिलो रहेको छ ।
दुवै क्षेत्रमा दुईवर्ष अघि असारमा सडक भासिएको हो । सडक साँघुरो हुँदा सहज दुईतर्फी सञ्चालनमा कठिनाइ भएको छ । ती दुवै क्षेत्रमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ । ती क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुईपटक बोलपत्र आह्वान गर्दा समेत कोही पनि नआएको बताउनुभयो ।
प्राविधिकरूपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्न सक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ । ठेक्का नपरेपछि यस वर्षको वर्षात्मा पनि यत्तिकै सडक सञ्चालन गर्नुपर्ने भएको छ । धसिएको क्षेत्र बढेमा वर्षात्को समयमा समस्या आउन सक्ने जनाइएको छ । सूचना अधिकारी खनालले भित्तोपट्टिको भागमा सम्याएर ग्राबेल राख्ने काम गरिएको जानकारी दिनुभयो । यसबाट दोहोरो सवारी साधन आवागमन गर्न सक्ने छ ।
दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । वर्षात्मा पहिरो खस्न रोक्नका लागि भने अहिले पनि काम भइरहेको छ । चार किलोबाहेकका क्षेत्रमा काम सम्पन्न भएको खनालले जानकारी दिनुभयो । यस सडक राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्ग हो । यहाँबाट दैनिक १० हजार सवारी साधन आवागमन गर्दछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ असार २०७७, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
वर्षापछि पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध
नारायणगढ–बुटवल सडक दैनिक चार घण्टा बन्द
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
नारायणगढ–बुटवल सडक: पूर्वी खण्डको ५० किमी कालोपत्र