आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षा हुने अनुमान

सफल खबर संवाददाता

आइतबार, ३२ जेठ २०७७, ०८ : ३७
आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षा हुने अनुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वबाट भित्रिएको मनसुन बिस्तारै पश्चिमतिर सर्ने क्रममा रहेको जनाएको छ ।  नेपालको पूर्वी भागमा मनसुनी गतिविधि सक्रिय बनाउने जलवाष्प युक्त वायुको सक्रियता बढ्ने क्रममा रहेको उनले बताए । सो वायु बिस्तारै पश्चिमतिर सर्दै जानेछ ।

हाल पश्चिमी वायुको प्रभावका कारण मध्य र सुदूरपश्चिममा बदली तथा वर्षा भएको छ । बागमती प्रदेश र प्रदेश ५ मा भने मौसम केही खुलेको छ ।  हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आइतबार दिउँसोपनि देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही अन्य प्रदेशहरूमा सामान्य बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको संभावना रहेको मौसमविद श्रेष्ठले बताएका छन् । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुनेछ । प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस