लकडाउनलाई खुकुलो बनाउने सरकारको निर्णय, तर सार्वजनिक यातायात नचल्ने, रेस्टुरेन्टबाट प्याकिङको सुविधा

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०७७, १७ : ४९

काठमाडौं । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । 

खतिवडाका अनुसार सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा अर्थ र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसमा निजी क्लिनिक समेत सञ्चालन हुनेछन् । 

यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टर स्टोरहरु खुला गरिएको खतिवडाले बताए । तर सपिङ मल भने खोल्ने निर्णय भएको छैन । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । 

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ । 

यस्तै सरकारले साइकल र मोटरसाइकल चल्न दिने  निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना चढ्न रोक लगाएको छ । यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा सञ्चालन निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताए । 

यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गर्ने सरकारी निर्णय छ । यस्तै नर्सरी र बनजन्य व्यवसाय,  विकास आयोजना, निजी क्षेबाट प्रवर्द्धित आयोजना पनि निर्वाध रुपमा सञ्चालित हुनेछन् भने नदीजन्य ढुवानी पनि खुला गरिएको छ ।  

यसैगरी रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको छ । रेस्टुरेन्ट खोल्न पाइने भएपनि त्यहाँ ग्राहकले भिडभाड गर्न पाउने छैनन् । ग्राहकले रेस्टुरेन्टसम्म पुगेर सुरक्षितरुपमा प्याकिङको अर्डर गरेर घर तथा अफिसमा लगेर खान सक्ने सरकारको निर्णय छ ।