संविधान संशोधन विधेयक खारेजको माग फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन, नलिए कारवाही गर्ने चेतावनी

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०७७, १७ : ५९
संविधान संशोधन विधेयक खारेजको माग फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन, नलिए कारवाही गर्ने चेतावनी

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

जनता समाजवादी पार्टी ९जसपा० नेपालकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएपछि पार्टीले उनलाई सो संशोधन फिर्ता लिन निर्देशन दिएको हो । 

समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले संसदभित्र एउटै दलको मान्यता नपाएकाले तत्कालिन समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो । 

उनले आज विधेयक दर्ता गराएसँगै चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो ।

उनले नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको हो । संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए । 

सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमाथिको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी छिन् । 

दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी संविधान संशोधनका लागि सरकारले विधेयक प्रस्तुत गरोको थियो । 

गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विरोध जनाएकी थिइन् ।

उनले संशोधनमा लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको बताएकी थिइन् । त्यसअघि प्रतिनिधिसभा बैठकमा समेत उनले त्यस्तै धारणा राखेपछि सांसदहरू उनीविरूद्ध खनिएका थिए ।

प्रतिक्रिया दिनुहोस