चितवन प्रशासनले सोध्यो – नारायणी सामुदायिकबाट संक्रमितलाई किन सारियो ?

बुधबार, २८ जेठ २०७७, १५ : ५०
चितवन प्रशासनले सोध्यो – नारायणी सामुदायिकबाट संक्रमितलाई किन  सारियो ?

चितवन । जिल्ला प्रशासन कार्यालय भरतपुरले नारायणी सामुदायिकमा उपचार भइरहेको कोरोना संक्रमित बिरामीलाई भरतपुर अस्पतालमा पठाएपछि स्पष्टीकरण सोधेको छ ।

संक्रमितको भरतपुर अस्पतालमा मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पत्र पठाएर संक्रमित बिरामीलाई कसैको अनुमति नलिई भरतपुर अस्पताल किन पठाइयो भनेर जवाफ मागेको छ ।  

नारायणी सामुदायिक हस्पिटलको आइसीयूमा उपचाररत भरतपुर–११ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि बिरामीलाई हस्पिटलले भरतपुर अस्पताल पठाएको थियो । नारायणी सामुदायिकले समन्वयमा भरतपुर अस्पताल पठाएको दावी गरेको छ भने जिल्ला प्रशासनले कसैको अनुमति नलिई बिरामी पठाएको भन्दै स्पष्टीकरण मागेको छ । 

कसैको अनुमति बिना नै जटिल अवस्थाका बिरामी अन्यत्र सारिएकोले स्पष्टिकरण सोधिएको जनाएको छ भने नारायणी सामुदायिकले पनि पत्र पठाएर बिरामी सार्नुको कारण खोजिएको जनाएको छ । नारायणी सामुदायिकले बिरामी सार्नुको तत्काल जवाफ दिने जनाएको छ ।