कोरोना कहरमा स्वास्थ्य संस्थाको बेथिती

चाँडो बिरामी बाहिर लैजानु भनेर अस्पतालले अत्यायो, यसरी गयो चितवनका कोरोना संक्रमितको ज्यान

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०७७, ०९ : ५३
चाँडो बिरामी बाहिर लैजानु भनेर अस्पतालले अत्यायो, यसरी गयो चितवनका कोरोना संक्रमितको ज्यान

काठमाडौं । मेडिकल सिटीको उपमा पाउदै गईरहेको चितवनको भरतपुर स्थित नारायणी सामुदायिक अस्पतालको भेन्टिलेटरमा रहेका भरतपुर–११ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको त्यहाँबाट जबरजस्ती रिफरपछि भरतपुर अस्पतालमा मृत्यु हुन पुग्यो ।

उनको मृत्युपछि अस्पतालले लापरबाही गरेको र प्रशासनको बिना सल्लाहमा भेन्टिलेटरबाट निकाली सरकारी अस्पतालमा पठाइएको भन्दै नारायणी सामूदायिक अस्पतालको आलोचना भइराखेको छ । स्मरण रहोस, नारायणी सामुदायिकमा बिरामीहरुको उपचारमा गम्भीर खेलवाड गरेकै कारण कैयौंको मृत्यु समेत भयो ।  अहिले कोरोना त्रास बिच घटेको घटनाले धेरैले यसलाई स्वास्थ्य क्षेत्रमा लापरबाही भनेका छन् ।

यद्यपि यो बेला स्वास्थ्य संस्था र चिकित्सकलाई गाली गर्ने भन्दा पनि उनीहरुलाई बिरामीको उपचारमा थप जिम्मेवार बनाउने समय हो । तर यो भन्दा भन्दै पनि मानव स्वास्थ्यमा खेलवाड गर्ने अधिकार भने कसैलाई पनि छैन् ।  भरतपुर अस्पतालमा मृत्यु भएका संक्रमितका ज्वाईँ सुरेश गुरुङले सफल खवरलाई घटनाको विस्तार बताएका छन् । भावव्हिल हुँदै उनले घटनाक्रम यसरी सुनाए । बुवा (ससुरा) अलि ठुलो ज्यानको हुनुहुन्थ्यो । सुगर प्रेसरको समस्या पुरानै हो । जेठ २१ गते घर नजिकैको मेडिकलमा प्रेसर जाँच्न जानु भएको थियो नत्र उहाँ अन्त कहीँ कहिल्यै हिँड्नु भएको थिएन । २३ गते एक्कासी दाहिने कोखो दुखेको बताउनु भयो ।

अनि मैले स्कुटरमा राखेर लाने तयारी गरेपछि उहाँले म धानिनँ सक्दिन कि भनेपछि मैले म्याजिकमा हालेर नारायणी सामूदायिक अस्पतालमा लगेँ ।  त्यहाँ लगेर ओपीडीमा देखाएपछि ईमरजेन्सीमा लगियो, ईको र ईसीजी गरेपछि मुटुमा समस्या भएको डाक्टरले बताउनुभयो । अनि बुबालाई त्यही भर्ना गरेर राख्ने सल्लाह डाक्टरबाट भयो । आईसीयूमा भर्ना गरेर भेन्टिलेटरमा राखियो ।  उपचारकै क्रममा थप परीक्षणहरु भए  । एक्सरे गर्दा निमोनिया पनि देखियो । उपचार जारी थियो भने यो बीचमा मैले ७० हजार बुझाएँ । पछि कोरोना परीक्षण गरियो अनि पोजेटिभ आयो भनेर भनियो ।

म अन्योलमा परेँ के गर्ने के नगर्ने, आफ्नो बुबालाई कहाँबाट कसरी कोरोना सर्यो भन्ने पनि थाहा पाउन सकिरहेको छैन् ।  कोरोना देखिएपछि अस्पतालले जति सक्दो चाँडो बिरामी बाहिर लानु भनेर अत्यायो । उनीहरुले यहाँ अब उपचार हुँदैन , भरतपुर अस्पतालमा गर्नुपर्छ भने । मलाई छिटो बिरामी लैजान पटक पटक भने । उनीहरुले सुरुमा बिल फर्छयौट गरेर आउन भनेका थिए । बिल क्लियर गर्न पैसाको जोहो गर्दै गर्दा चिकित्सकहरुले पहिला बिरामी निकाल्नुस् बिल पछि तिर्नुहोला पो भन्न थाले । उनीहरुले भरतपुर अस्पतालबाट एम्वुलेन्स बिरामी लिन आइसकेको बताए । अनि हेर्न गएँ, एम्बुलेन्स भरतपुर अस्पतालको नभई एम्बुलेन्स नारायणी सामूदायिक अस्पतालकै रहेछ ।

मलाई झुक्याइयो !  अनि सामान्य मास्क, अनुहार ढाक्ने सेफ्टी र पन्जाकै भरमा हतार हतारमा भेन्टिलेटरमा गएर त्यहीँ रहेका डाक्टरको निर्देशनमा अस्पतालमा कार्यरत २ जना सफाई कर्मचारी र मैले बुबालाई बाहिर निकालेर एम्बुलेन्समा हाल्यौँ । मलाई पछि साथ दिने कोही भएन । अनि म एक्लै बुबालाई लिएर भरतपुर अस्पतालको कोरोना अस्थायी अस्पताल पुगेँ, त्यहा पुग्दा बिरामी आउँदै छ भनेर मलाई भनिसकिएकोमा त्यहाँ पुग्दा भनेको पनि कोही रहेनछ  तयारी पनि रहेनछ ।

भेन्टिलेटरमा राखेको बिरामीलाई सामान्य अक्सिजनकै भरमा म आघा घन्टा बढी समय बाहिरै राखेर बसिरहेँ ।  बुबा छटपटाई रहनुभएको थियो । टुलुटुलु हेर्नु सिबाय मेरो केही उपाय थिएन् । पछि एक जना स्टाफ आउनु भयो पछाडिको च्यानल गेट खोलियो । अर्को एक जना पनि बोलाउनु भन्दा तयारी छैन भनेर जवाफ आयो । अनि दुईजना मिलेरले आईसीयुमा लगियो । त्यहाँ स्टाफ नर्स हुनुहुन्थ्यो । अस्पतालमा भेन्टिलेटर रहेनछ आईसीयूमा राखेर आफू रातभरी घरी भित्र घरी बाहिर गरिरहेँ । अर्को दिन मात्रै भेन्टिलेटर पाउने जानकारी पाएँ ।

बिहान त बुबाको मृत्युको खवर आयो । आखिर मृत्यु त छँदै थियो तर उही भेन्टिलेटरबाट अमानवीय ढंगले ननिकालेको भए, उपचार पाएको भए बुवा बाच्नु हुन्थ्यो कि । मेडिकल सिटीको रुपमा परिचय बनाउदैं गएको चितवन जस्तो ठाउँमा अस्पतालको यस्तो लापरबाहीले मर्नु पर्ने ? मर्ने बेलामा कोरोना भनेर भनियो । कसरी लाग्यो मैले बुझ्नै सकिरहेको छैन ।  

म अहिले भरतपुर अस्पतालको क्वारेन्टाइनमा छु । यहाँ राम्रै छ ठिकैसंँग बसेको छु । तर नारायणी अस्पतालको व्यवहारले असीमित प्रश्नहरु मनमा खेलिरहेका छन् । यस्तो गम्भीर लापरवाही गर्ने अस्पताललाई कारवाही होला ? स्वास्थ्य जस्तो संवेदनशिल कुरामा हुने लापरवाही दिन प्रति दिन बढदैं गएपनि आर्थिक चलखेल र शक्तिकै आड्मा स्वास्थ्य संस्थाहरुले कहिले सम्म छुट पाउने ? 

प्रतिक्रिया दिनुहोस