जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

रासस

सोमबार, ०३ कार्तिक २०८२, १३ : ३६
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

महेन्द्रनगर । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार मृत्यु हुनेमा बेलौरी नगरपालिका-३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन् । वृद्ध आचार्य साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ आइरहेका थिए ।

“बेलौरी नगरपालिका-५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडक खण्डमा साइकलसँगै आचार्यको शव फेला परेको हो”, उनले भने ।

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार खोजतलास गर्ने क्रममा पुष्पलाल स्मृति सामुदायिक बनमा आचार्यको शव भेटिएको हो । शव परीक्षणका लागि प्रहरीले बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

प्रतिक्रिया दिनुहोस