विदेशी विनिमय सञ्चिति : डलरमा घट्यो, रुपैयाँमा बढ्यो

पत्रपत्रिकाबाट

आइतबार, २५ जेठ २०७७, ०७ : ५९
विदेशी विनिमय सञ्चिति : डलरमा घट्यो, रुपैयाँमा बढ्यो

काठमाडौँ । लकडाउनका कारण गत चैतमा रेमिट्यान्स आप्रवाह घटेपछि त्यसको प्रत्यक्ष प्रभाव विदेशी विनिमय सञ्चितिमा परेको छ । यही कारण गत फागुनको तुलनामा चैत मसान्तमा अमेरिकी डलरमा मुलुकको कुल विदेशी विनिमय सञ्चिति घटेको छ । उक्त अवधिमा अमेरिकी डलरको भाउ (विनिमय दर) बढेकाले नेपाली मुद्रा (रुपैयाँ) मा कुल विदेशी मुद्राको सञ्चिति बढेको देखिन्छ ।

डलरमा घट्नु भनेको उक्त अवधिमा नेपाल भित्रिने विदेशी मुद्रा कम भयो भन्ने हो । वास्तविक विदेशी मुद्राको सञ्चिति वृद्धि हुन डलरमै बढ्नुपर्छ । डलरमा कम मुद्रा भित्रिए पनि विनिमय दर उच्च रहेकाले रुपैयाँमा बढेको देखिएको हो ।

गत फागुनमा अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६० करोड रुपैयाँ थियो । चैत मसान्तमा यस्तो सञ्चिति ९ अर्ब ४९ करोडमा झरेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । सो अवधिमा नेपाली मुद्रामा भने विदेशी विनिमय सञ्चिति बढेको देखिन्छ । फागुनसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ३६ अर्ब रुपैयाँ थियो ।

चैत मसान्तसम्म आइपुग्दा यो ११ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा सञ्चिति ११.३ प्रतिशत बढेको देखिन्छ । ०७६ असारमा यस्तो सञ्चिति १० खर्ब ३८ अर्ब रुपैयाँ थियो । नेपाली मुद्रामा विनिमय सञ्चिति बढ्नुको कारण डलरको मूल्य वृद्धि नै भएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस