विश्वको सबैभन्दा स्वस्थकर खाना के हो ?

आइतबार, १३ फागुन २०७४, १७ : ४९
विश्वको सबैभन्दा स्वस्थकर खाना के हो ?

चितवन । खानपानले मानिसको अनुहारमा आउने चमक निर्धारण गर्छ । जीवनको गति त्यसकै आधारमा तय हुन्छ । मानव स्वास्थ्य एक प्रकारको लगानीको प्रतिफल जस्तै हो । लगानी खानपानको, प्रतिफल स्वास्थ्य । राम्रो खाना खाएमा स्वास्थ्य पनि राम्रै हुन्छ ।

राम्रो खाना भन्नाले, सन्तुलित खानपान । शरीरलाई आवश्यक पर्ने सबै पोषक तत्व भएका खाद्यान्न खानु नै सन्तुलित आहर हो । तर दुःखको कुरा विश्वका धेरै मानिसले सन्तुलित खाना खाएका छैनन् । मानिसले भएर पनि सन्तुलित खाना खाँदैनन् । धेरै पिरो अमिलो, भुटेको तारेको खाना खाने गर्दा समस्या हुन्छ ।

भागदौडको जिन्दगीमा हामी धेरैले सन्तुलित खाना खान पाएका छैनौँ । काम गर्ने समय जति पनि हुन्छ, तर राम्रोसँग बसेर आरामले खान समय मिल्दैन । जे भेट्यो, त्यही खायो । पेट भर्नका लागि खाना खायो । स्वास्थ्यको ख्याल हुँदैन ।

धेरैलाई त कुन खानाबाट कस्तो पोषक तत्व पाइन्छ भन्ने थाहा नै हुँदैन । मानिसलाई तन्दुरुस्त र स्वास्थ राख्नका लागि कस्तो खानपान राम्रो हुन्छ भन्ने विषयमा विश्वमा धेरै अनुसन्धान भएका छन् । पछिल्लो पटक गरिएको अनुसन्धानमा वैज्ञानिकले मानिसको स्वास्थ्यका लागि फाइदाजनक एक सय खानाको सूचि बनाएका छन् ।

यस्ता केही खानामा बदाम पनि एक हो । प्रोटिनको राम्रो स्रोत बदाममा मोनो–अनस्याचुरेटेड फ्याट हुन्छ । यसले मुटुसँग सम्बन्धित रोगबाट बच्ने शक्ति दिन्छ । दिनमा पाँचदेखि सातवटा बदाम खानु राम्रो हुन्छ । यसको पोषण स्कोर ९७ रहेको छ । यस्तै किसमिस पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ । किसिमको पोषण स्कोर ५१ रहेको छ । मांसाहारीका लागि सी–फुड पनि राम्रो मानिन्छ ।

रेड स्नाइपर नाम गरेको माछामा विशेष प्रकारको पोषक तत्व हुन्छ, यो स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर यसमा खतरनाक टक्सिन हुने भएकाले खाँदा ध्यान पुर्‍याउनु पर्छ । यसको पोषण स्कोर ६९ रहेको वैज्ञानिकले बताएका छन् । कागती तथा त्यससँग सम्बन्धी फलफूल पनि स्वास्थ्यका लागि राम्रो हुने वैज्ञानिकले बताएका छन् । यस्ता फलफूलले छालालाई राम्रो बनाउने गर्छ ।

एसिडिटी भएका व्यक्तिका लागि साइट्रस फ्रूट राम्रो मानिन्छ । यसमा सुन्तला सबैभन्दा राम्रो देखिएको छ । यसको पोषण स्कोर ५१ रहेको छ ।
यस्तै अनारमा एन्टी अक्सिडेन्ट र आइरन बढी मात्रामा हुन्छ । दिनको एउटा अनार खाएमा हेमोग्लोबिनको कमी हुन दिँदैन ।

यस्तै तरबुजा, खरबुजा, सागसब्गी, गाजर, मुला, काउली, ब्रोकाउली, लसुन, अदुवासहितका खाना पनि स्वास्थ्यका लागि राम्रो हुने वैज्ञानिकले बताएका छन् ।(बिबिसी फ्युचरको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस