बाह्रै महिना ‘जुवाको अखडा’ बन्दै काठमाडौं उपत्यका

पत्रपत्रिकाबाट

शनिबार, २४ जेठ २०७७, ०८ : ०१
बाह्रै महिना ‘जुवाको अखडा’ बन्दै काठमाडौं उपत्यका

काठमाडौं । जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् ।

प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग भएको पैसा बरामद गरिदिन्छ र दुई/चार दिन हिरासतमा राख्छ । जुवालाई सामान्य अपराध मान्दै जिल्ला प्रशासन कार्यालयले झिनो चार्जमा हिरासतमुक्त गरिदिन्छ । प्रहरीले पक्राउ गरेर सामान्य सजाय पाएर उम्किएकाहरू झन् गोप्य र प्रहरीले पत्तो नपाउने ठाउँमा खोजेर जुवामा जान्छन् । त्यसको उदाहरण हो, पाँच दिनअघि पक्राउ परेका जुवाडेहरूको ९ जनाको समूह ।

कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरू शुक्रबार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले जनही ३० हजार धरौटी माग गरी रिहा गरिदिएको हो । प्रहरीका अनुसार उनीहरू धनाढ्य व्यापारी हुन् । अन्य व्यापार व्यवसाय सुचारु नभइरहेको अवस्थामा जुवालाई नै व्यवसाय मानेर मोटो रकमसहित जुवा खेलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले सोमबार राति पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको समय लिएर अनुसन्धान अघि बढाएको थियो । कमलादीस्थित गंगौर होटलमा जुवा खेलिरहेका बेला रामचन्द्र सांघाई, पुरुषोत्तम अग्रवाल, अशोक अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगार्ई २ लाख ७७ हजार नगदसहित पक्राउ परेका थिए ।  

उनीहरूले नगद थोरै राखेर क्यासिनोमा प्रयोग हुने चिप्स (पैसाकै जस्तो मूल्य भएको सामग्री) प्रयोग गरेकोे आंशका प्रहरीले गरेको थियो । नगद थोरै राखे पनि मोबाइल बैंकिङ, ई–सेवालगायत डिजिटल डिभाइसहरूबाट पैसा पठाएको हुनसक्ने प्रहरीको निष्कर्ष थियो । तर, प्रहरीले गम्भीर र मोटो रकमको कारोबार नभएको भनेपछि  उनीहरूमाथि सामान्य कारबाही भएको छ ।

प्रहरीले बिहीबारै अनुसन्धान प्रमाण सरकारी वकिलको कार्यालयमा पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार उनीहरूलाई छाडेको छ । तर, यो समूह व्यापारिक र उच्च खानदानी मानिन्छ । राजधानीमा अरू व्यापार सेलाएको बेला पैसा कमाउने खेलमा उपत्यकामा ठुल्ठुला व्यवसायी जुवामा भुलेको विषय यसले पुष्टि गर्छ ।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस