मल र धानको बीउ पाउन नसकेको पश्चिम चितवनका किसानको गुनासो

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, २० जेठ २०७७, १६ : ५४
मल र धानको बीउ पाउन नसकेको पश्चिम चितवनका किसानको गुनासो

–  हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । पश्चिम चितवनका किसानहरुले रासायनिक मल र धानको बीउ नपाएको गुनासो गरेका छन् । 

भरतपुर महागनरपालिका २६ भगडीका नवीन सुवेदीले मुख्यबाली धानको बीउ छर्ने बेलामा बीउ र मल दुबै पाउन नसकेको बताए । उनका अनुसार वरिपरिका साझा र सहकारीमा कतै पनि मल नपाउँदा यस क्षेत्रका किसनाहरु चिन्तित बनेका छन् । त्यस्तै उन्नत जातको बीउ पनि पाइएको छैन । धेरै उत्पादन गर्ने भनेर केही वर्षदेखि किसानहरुले उन्नत जातका धान लगाउँदै आएका छन् । जसले गर्दा रैथाने जातका धान लोप हुँदै गएकोले सबै किसानसँग रैथाने जातका धान हुन छाडेको छ । 

‘यो बेलामा मलबीउ उपलब्ध नहुनु भनेको किसानले आफ्नो मुखमा बिर्काे लाउनु सरह हो । तर किसानको सँधैको समस्या मलबीउ उपलब्ध छैन, उनले भने ‘चितवनको पश्चिम क्षेत्रमा अहिले मलबीउ नपाएर किसानहरुमा एक किसिमको यस्तो नैराष्यता देखापरेको छ । जसले गर्दा बाहिरबाट घर फर्किएर कृषिमा केही गर्छु भन्ने युवाहरु पनि बिदेश जानु नै उचित मान्न थालेका छन् ।’ 

भरतपुर २६ भगडीकै रोशन सुनारले आफूले पनि मल पाउन नसकेको बताए । ‘धानको बीउ राख्ने बेलामा डिएपी मल चाहियो अनि बिउ छरेको ८/१० दिनमा पनि युरिया हाल्नुपर्छ । मैले त कुनै पनि मल पाउन सकेको छैन । टाठाबाठाले के कसरी ल्याउँदा रहेछन् हामी जाँदा छैन भन्छन् ।’ उनले भने । 

भरतपुर २५ शुक्रनगरका विमल अधिकारीले डिएपी र पोटास मल पाइए पनि यस क्षेत्रमा युरिया मल कतै पनि पाउन नसकेको बताए । आफूहरुले घरमै भएको धानलाई बीउ बनाउने उनले बताए ।

भरतपुर २७ पर्साढापकी सावित्री तिवारीले साझा पसलमा लामो लाइन बसेर बल्लतल्ल गरेर भएपनि डिएपी मल पाइएको बताइन् । युरिया मल पाउन नसकेको उनको भनाइ छ । कोहीले पाउने र कोहीले नपाउने अवस्था भएका कारण केही दिन अघि यहाँ विवाद उत्पन्न भएको उनले बताइन् । उनका अनुसार बीउ छर्नका लागि साथै किसानहरुले धान रोप्ने बेला मल पाइन्न की भनेर पनि अहिलेबाट किनेर राख्ने सुरसार थालेका छन् । उनले भनिन् ‘बीउ छर्नको लागि चाहिने अलिकति मल पाउन त यस्तो धपेडी छ भने धान रोप्ने बेला के होला ?’ 

कृषि सामग्री केन्द्र चितवनका प्रमुख रविन्द्र गौतमले लकडाउनका कारण मल आपूर्तिमा केही कमि आएको भए पनि अभाव हुने अवस्था सिर्जना नभएको बताए । किसानहरुले किन मल अभाव भनिरहेका छन् त ? भन्ने प्रश्नको जवाफमा उनले भने ‘किसानहरुले चाहिनेभन्दा बढी मल माग गरेर स्टक गर्न थालेका कारण कोही किसानले पाउने र कोहीले पाउँदै नपाउने अवस्था आएको हो । अहिले खासै मल चाहिने समय पनि होइन् तर धान लगाउने बेलामा मल पाइन्न की भनेर आवश्कताभन्दा बढी मल माग गरिरहेका छन् ।’  

उनले लकडाउनका कारण समुन्द्रपारीका देशबाट मगाइएको मल बन्दरगाहमा आएर रोकिएको बताए । यो वर्ष मल धेरै मगाउने गरी टेण्डर गरेको भएपनि विश्वव्यापी लकडाउनका कारण मल आपूर्तिमा केही समस्या आएको उनले बताए । तर स्वदेशमै भएको स्टकले अहिले धान्ने अवस्था रहेको र सहकारीहरुमा मल पुगिरहेको उनी दावी गर्छन् । 

भरतपुर २६ मिलनचोकमा रहेको अन्नपूर्ण बहुउद्देश्यीय सहकारीका व्यवस्थापक किरन मरहठ्ठाले आफूहरुसँग डिएपी र पोटास मलमात्र भएको बताए । मल लिन आउने जो सुकै किसानलाई पनि आफूहरुले मल दिने गरेको उनको भनाइ छ । डिएपी र पोटास पनि मागेको जति कृषि ज्ञान केन्द्रले सिफारिस नगरिदिँदा कृषि निर्माण सामग्री कम्पनीबाट चाहिए जति मल ल्याउन नसकिएको उनले बताए । ‘त्यसैले हामीले पनि किसानहरुले मागेको जति दिन सकेका छैनौ । तर रित्तो हात पनि पठाएका छैनौ’ उनले भने ।

कृषि ज्ञान केन्द्र चितवनकी सुचना अधिकारी सुरुची त्रिपाठीले आफूहरु कोरोना माहामारीको बेला पनि किसानको लागि भनेर काम गरिरहेको बताउँदै युरिया मल कृषि सामग्री केन्द्रमा नै नआएको बताइन् । बाहिरबाट आउन नसकेकाले युरिया मल देशव्यापीरुपमा अभाव रहेको उनको भनाइ छ । डिएपी र पोटास चाहिए जति वितरण गर्न सकिने अवस्था भएको र त्यसै अनुसार सहकारीहरुलाई मल दिनको निम्ती सिफारिस गरिरहेको उनी बताउँछिन् । 

कृषि ज्ञान केन्द्रले सिफारिस गरेको सहकारीलाई कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले रासायनिक मल दिने गर्छन् । सहकारीहरुमार्फत किसानहरुले मल किन्ने गर्छन् । कृषि सामाग्री केन्द्रले ६६ प्रतिशत र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले ३३ प्रतिशत मल वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस