काठमाडौं । नेपाली सेनाको हवाई क्षमता तथा उद्धार र स्वास्थ्य सेवामा थप मजबुती ल्याउन अमेरिकी सरकारले दुईवटा स्कायट्रक (एम २८ विमान) र एकवटा एयर एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ ।
यी विमान तथा हेलिकप्टरको हस्तान्तरण कार्यक्रम आगामी सेप्टेम्बर पहिलो साता काठमाडौंमा विशेष समारोहसहित हुने तयारी भएको छ ।
अमेरिकी पक्षले यसबारेमा परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र नेपाली सेनालाई औपचारिक जानकारी दिइसकेको छ । रक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्राचारअनुसार हस्तान्तरणका लागि भन्सार, हवाई अनुमति, हवाई क्षेत्र अनुमति दिलाउन र अमेरिकी राजदूतलाई कार्यक्रममा उपस्थित गराउन आग्रह गरेको छ ।
दुई स्कायट्रक काठमाडौं आइपुगिसके
रक्षा मन्त्रालयले जनाए अनुसार, भदौं ७ (२३ अगस्ट) मा नै दुईवटा स्कायट्रक काठमाडौं अवतरण भइसकेको छ । पोल्यान्डस्थित PZL Mielec (लकहिड मार्टिनको सहायक कम्पनी) द्वारा निर्माण गरिएका यी विमानहरू छोटो धावनमार्गमा अवतरण गर्न सक्ने (STOL क्षमता) भएकाले नेपालका दुर्गम पहाडी क्षेत्रमा पनि सजिलै सञ्चालन गर्न सकिन्छ ।
स्कायट्रकले दुई–तीन चालक दलसहित १२ प्यारा जम्पर वा १८ यात्रु बोक्न सक्छन् । यी विमान सामान ढुवानी, उद्धार, भीआईपी यातायात तथा सैनिक तालिमका लागि उपयुक्त मानिन्छन् ।
सन् २०२३ मा अमेरिकी सरकारले नेपाललाई दुई स्कायट्रक र दुई बेल हेलिकप्टर उपलब्ध गराउने सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार पोल्यान्डको कारखानाबाट नयाँ स्कायट्रक विमान उत्पादन गरी गत वर्ष परीक्षण उडानसमेत गरिएको थियो । तर, मूलतः २०२५ को अप्रिलमै नेपालमा ल्याउने योजना भए पनि प्राविधिक र रसद सम्बन्धी कारणले ढिलाइ भई यसअघि भर्खरै मात्र नेपाल ल्याइएका हुन् ।
यस पटक नेपालले प्राप्त गर्न लागेको प्याकेजमा पाँच वटा विमान/हेलिकप्टर छन् । दुई स्कायट्रक, एक एयर एम्बुलेन्स र दुई बेल हेलिकप्टर । रक्षा मन्त्रालय स्रोतका अनुसार, यीमध्ये चारवटा अमेरिकी अनुदान हुनेछन् भने एउटा नेपालले खरिद गर्नुपर्नेछ । तर, कुन खरिद हो भन्नेबारेमा आधिकारिक रूपमा खुलाइएको छैन । सम्भवतः एयर एम्बुलेन्स खरिदमा पर्ने अनुमान गरिए पनि रक्षा मन्त्रालय वा सेनाले सार्वजनिक पुष्टि गरेको छैन ।
यो सम्पूर्ण प्याकेजको मूल्य करिब १३.३८ अर्ब रुपैयाँ (३०.३ मिलियन अमेरिकी डलर) बराबर छ । सम्झौताअनुसार, विमान मात्र नभई आवश्यक स्पेयर पाट्र्स, प्राविधिक सहयोग, उडान तालिम र मेडिकल उपकरणसमेत आपूर्ति हुनेछ । यसले दीर्घकालीन रूपमा सेनाको हवाई संरचना सुदृढ गर्ने विश्वास गरिएको छ ।
हाल नेपाली सेनासँग साना–मझौला गरी सातवटा विमान र १५ वटा हेलिकप्टर छन् । यीमध्ये अधिकांशको प्रयोग विपद् उद्धार, घाइतेको उद्धार, खाद्यान्न र सामग्री ढुवानीमा हुँदै आएको छ । नयाँ विमान र हेलिकप्टर थपिएपछि सेनाको उद्धार क्षमता, विपद् व्यवस्थापन र दुर्गम क्षेत्रमा पुग्ने क्षमता थप प्रवल हुने अपेक्षा गरिएको छ ।
सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राजाराम बस्नेतका अनुसार, प्राप्त विमानहरूको उपयोग केवल सैनिक उद्देश्यका लागि मात्र नभई विपद् व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार र मानवतावादी कार्यका लागि पनि हुनेछ । गत वर्ष अमेरिकी उपपरराष्ट्र सचिव रिचर्ड भर्मा नेपाल भ्रमणमा आएका बेला अमेरिकाले नेपाललाई १० करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग दिने घोषणा गरेको थियो । यसमार्फत नेपालले थप हेलिकप्टर खरिद गर्न सक्नेछ । त्यसै क्रममा अमेरिकाले नेपाललाई थप दुईवटा बेल हेलिकप्टर दिने तयारीसमेत गरेको छ ।
यसअघि नेपाली सेनाले रूसबाट दुईवटा हेलिकप्टर खरिद गर्ने तयारी गरेको थियो । तर, अमेरिकाले तत्कालै वैकल्पिक रूपमा बेल हेलिकप्टर उपलब्ध गराउने प्रस्ताव गरेको हो । अमेरिकी पक्षका अनुसार, यी हेलिकप्टरहरू विशेष गरी विपद् उद्धार र मानवतावादी सहयोगमा उपयोगी हुनेछन् ।
स्कायट्रक विमान हाल अमेरिकी वायुसेना, पोल्यान्ड नेभि, भेनेजुएला आर्मी, भियतनामी वायुसेना र इन्डोनेशियाली एयर पुलिसले प्रयोग गरिरहेका छन् । नेपालमा पनि यी विमान थपिएपछि सेनाको हवाई क्षमतामा अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुधार हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, ११ : १८
लेखकबाट थप