काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । सोमबार उनको एकल उम्मेदवारी परेपछि निर्वाचन कार्यतालिका अनुसार प्रतिस्पर्धा नै नगरी उनी सभापति चुनिएकी हुन् ।
यसअघि संसदीय सुनुवाई विशेष समितिको सभापति रहेकी न्यौपानेलाई कांग्रेस नेतृत्वले राजीनामा गराई राज्य व्यवस्था समितिको जिम्मेवारी दिलाएको हो । न्यौपानेलाई संसदकै राज्य ब्यवस्था समिति बराबरी हैसियतमा रहने महत्त्वपूर्ण समितिको सभापतिबाट हटाएर अर्को समितिको सभापति बनाएको निर्णयलाई लिएर अहिले कांग्रेसभित्र शेखर कोइराला पक्षले असन्तुष्टि जनाईरहेको छ । राज्य व्यवस्था समितिमा नेपाली कांग्रेसका ९ जना सदस्य छन् ।
रामहरि खतिवडाले राज्य ब्यवस्था समितिको सभापतिबाट राजीनामा दिएपछि कांग्रेसभित्र प्रारम्भमा दिलेन्द्रप्रसाद बढु, हद्दयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाई आकांक्षी देखिएका थिए । तर, उम्मेदवार छनोटमा पार्टी सभापति शेरबहादुर देउवाको अडान निर्णायक बन्यो ।
थानीलाई उपसभापति पूर्णबहादुर खड्काले सुरु देखिनै अड्काइरहे भने बढु शेखर कोइराला पक्षका भएकाले देउवा सहमत भएनन् । अम्बिका बस्नेतको उमेर र क्षमता समितिको सभापतिको भूमिका निर्वाह गर्न उपयुक्त नदेखिएकाले उनको नाम कांग्रेसभित्रै अगाडि बढेन । सरिता प्रसाई पनि शेखर पक्षकै नेतृ भएकीले देउवाले उनको नाममा सहमति जनाउने कुरै थिएन ।
यसरी विकल्प क्रमशः बन्द हुँदै जाँदा अन्ततः देउवाले न्यौपानेको नाम अघि सारे । पार्टीभित्र पनि उनका नाममा उल्लेख्य आपत्ति नआएपछि न्यौपाने निर्विरोध सभापति बन्न पुगिन् । कांग्रेस नेतृत्वमा यसअघि अर्को समीकरणमा पनि छलफल भएको थियो । त्यसअनुसार प्रमुख सचेतक श्याम घिमिरेलाई राज्य व्यवस्थामा ल्याएर सभापति बनाउने र उनको स्थानमा रामहरी खतिवडालाई पार्टीको दलको प्रमुख सचेतक बनाउने योजना थियो ।
पार्टीका पदाधिकारीको ठूलो समुह यसमा सहमत भए पनि समस्या के थियो भने घिमिरे शिक्षा समितिमा सदस्य थिए । उनलाई स्थानान्तरण गर्न संसद बैठक बोलाउनुपर्ने बाध्यता थियो । संसदको अर्को बैठक भदौ १३ मा मात्र तोकिएकोले ११ भदौभित्रै समिति सभापति चयन गर्नुपर्ने नियमावली अनुसार कांग्रेस अप्ठ्यारोमा प¥यो ।
त्यसपछि रामहरी खतिवडालाई नै पुनः समितिको सभापति बनाउने प्रस्ताव पनि आयो । तर भर्खरै कुलिङ पिरियडमा राजीनामा दिएका खतिवडालाई पुनः त्यही जिम्मेवारी दिनु उपयुक्त नहुने भन्दै महामन्त्री विश्वप्रकाश शर्माले चर्को आपत्ति जनाए । यसरी खतिवडा दोहोरिने बाटो पनि बन्द भयो । अन्ततः सबै सम्भाव्य विकल्प रोकिएपछि न्यौपानेलाई अघि सार्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।
संसदीय सुनुवाईमा नयाँ समीकरण
न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाइसकेपछि अब कांग्रेसले संसदीय सुनुवाई विशेष समितिमा अर्को समीकरण मिलाउने तयारी गरेको छ । त्यहाँ श्याम घिमिरेलाई सभापति बनाउने र त्यसको सट्टामा रामहरी खतिवडालाई दलको प्रमुख सचेतकमा ल्याउने सहमति बनेको कांग्रेस स्रोतको दाबी छ ।
सुनुवाई समितिमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्याम घिमिरे र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेका छन् । परियार पार्टी सहमहामन्त्री र कार्की पूर्व सञ्चारमन्त्री भएकाले उनीहरु समिति सभापतिमा सक्रिय भूमिका खेल्न नजाने भएपछि घिमिरेलाई सुनुवाईको सभापति र खतिवडालाई दलको प्रमुख सचेतक बनाउने निश्कर्षमा कांग्रेस पुगेको हो ।
कांग्रेसभित्र असन्तोष
न्यौपाने निर्विरोध भए पनि कांग्रेसभित्र यस प्रक्रियाप्रति कतिपय असन्तुष्टि देखिएको छ । कतिपय नेताहरुले सभापति देउवाले आफ्नो पक्षका नेताहरुलाई मात्र अवसर दिएको भन्दै आलोचना गरेका छन् । तर देउवा पक्ष भने आन्तरिक एकतालाई ख्याल गर्दै र कार्यसम्पादनमा सक्षम नेतृ रोजिएको दाबी गर्छ । पार्टीभित्र बढु, थानी वा प्रसाईलाई नदिई न्यौपानेलाई एक ठाउको सभापतिबाट राजीनामा दिन लगाई अर्काे स्थानमा ल्याएर अवसर दिनु भनेको अन्ततः देउवाको राजनीतिक नियन्त्रण कायम गर्ने रणनीति हो भन्ने बुझाइ शेखर कोइराला पक्षको छ ।
प्रतिनिधिसभाका शक्तिशाली समितिहरुमध्ये राज्य व्यवस्था समिति निकै महत्त्वपूर्ण मानिन्छ । यस समितिबाट प्रशासनिक संरचना, संवैधानिक निकाय र मूल राजनीतिक मुद्दासम्म छलफल हुने परिपाटी छ ।
यस्तो अवस्थामा कांग्रेसले इश्वरी न्यौपानेलाई सभापति बनाएको छ भने अर्कोतर्फ संसदीय सुनुवाई समितिको नेतृत्व श्याम घिमिरेलाई दिने र पार्टीको प्रमुख सचेतकमा रामहरी खतिवडालाई ल्याउने तयारीमा छ । यसरी आन्तरिक शक्ति सन्तुलन र पद बाडफाँडको समीकरणबीच इश्वरी न्यौपाने राज्य व्यवस्था समितिको सभापति बन्न पुगेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, ११ : ०८
लेखकबाट थप