क्वारेन्टाइन बसेकालाई दैनिक २०० रुपैयाँ भत्ता

मंगलबार, २० जेठ २०७७, १३ : ५९
क्वारेन्टाइन बसेकालाई दैनिक २०० रुपैयाँ भत्ता

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टाइन बसेका व्यक्तिलाई खाना र खाजाबापत दैनिक २०० रुपैयाँ भत्ता दिँदै आएको छ । 

जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक २०० रुपैयाँ भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए ।

डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाएका क्वारेन्टाइनमा सबैजना नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टाइनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आ–आफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक २०० रुपैयाँका दरले भत्ता दिने गरेको उनले बताए ।
    
अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ वटा क्वारेन्टाइनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस