बजेटमा एमसीसी घुसाइएपछि नेकपामा भाँडभैलो

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, ०९ : ५८
बजेटमा एमसीसी घुसाइएपछि नेकपामा भाँडभैलो

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७७–७८ को बजेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) घुसाइएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि भाँडभैलो सुरु भएको छ । 

पार्टीभित्रै विवादित बनेको एमसीसीबारे कुनै छलफल नगरी बजेटमा समावेश गरेको भन्दै एमसीसीको विपक्षमा रहेका सचिवालय सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । उनीहरुले एमसीसी मुलुकको हितमा नरहेको भन्दै कुनैपनि बाहनामा त्यसलाई नेपालमा भित्र्याउन दिन नहुने तर्क गर्दै आएका छन् । 

९ सदस्सीय नेकपाभित्र बहुमत सदस्य एमसीसीको विपक्षमा रहेका छन् । 

पार्टीभित्र विवाद रहकै सन्दर्भमा एमसीसी बजेटमा घुसाइएप्रति आफूहरुको आपत्ति रहेको वरिष्ठ नेता झलनाथ खनालले बताए । उनले शनिबारको सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने पनि बताए ।  उनले एमसीसी राखेको बारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरिने समेत बताए ।

 एमसीसीबारे ब्याक नभए पुनः ओलीविरुद्ध मोर्चाबन्दीको तयारी पार्टीभित्र सुरु भएको छ । त्यसका लागि असन्तुष्ट नेताहरुबीच अनौपचारिक छलफल सुरु भइसकेको एक नेताले बताए । ९ सदस्सीय सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलमात्रै एमसीसीको पक्षमा रहेको बताइन्छ । 

बजेटमा एमसीसी घुसाइएको बारे नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले समेत शुक्रबारको भेटमा प्रधानमन्त्रीसँग असन्तुष्टि जनाएको बताइएको छ । 

अर्थमन्त्री डा . युवराज खतिवडाले बजेट भाषणमा एमसीसीबारे जिकिर नगरे पनि अनुदानबारे अनुसूचीमा यसलाई समावेश गरेका छन् । अमेरिका अन्तरगतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस