झापा उच्च जोखिममा , सङ्क्रमितको सङ्ख्या ३५ पुग्यो

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ जेठ २०७७, ०६ : ५७
झापा उच्च जोखिममा , सङ्क्रमितको सङ्ख्या ३५ पुग्यो

दमक । झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए ।  बिहीबार बिहान १५ र दिउँसो आठ गरी २३ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।  

अहिले झापामा कूल सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केका छन् । झापामा फेला परेका कूल सङ्क्रमितमध्ये ३३ जना भारतसँगको सीमावर्ति कचनकवल गाउँपालिकाका हुन् ।  यी सबै भारतबाट आएका हुन् ।  कचलनकवल मात्रै होइन, झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको छ ।

भारतबाट फर्कनेहरु बढेपछि अहिले कचनकवलसहित अधिकाँस स्थानीय तह सिल गर्न थालिएको छ । यसैबीच, भmापामा कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा नै स्वाब परीक्षणसहित कोभिड १९ अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार झापामा कोभिड अस्पताल निर्माण र जिल्लामै स्वाब परीक्षणको व्यवस्था मिलाउने प्रक्रिया थाल्न निर्देशन भएको जिल्ला कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।