Safal Khabar - कोरोनाको उपचारमा दूधेझारको प्रभावकारिता खोज्दै वैज्ञानिक
मङ्गलबार, २० जेठ २०७७ (Tuesday, 2 June, 2020)
विस्तृतमा हेर्नुहोस् »
कोरोनाको उपचारमा दूधेझारको प्रभावकारिता खोज्दै वैज्ञानिक
मङ्गलबार, ०६ जेठ २०७७, १६ : ४३
कोरोनाको उपचारमा दूधेझारको प्रभावकारिता खोज्दै वैज्ञानिक

- डा. हीराकाजी मानन्धर 

हिजो मोबाइलमा समाचार हेर्दै थिएँ, एउटा चिरपरिचित बिरुवालाई देखेँ । त्यसको नाम मैले रामपुर, चितवनमा कृषि पढ्दादेखि नै याद छ र देख्ने बित्तिकै चिन्छु पनि । त्यसबेला वीड साइन्स (झारपात विज्ञान) भनेर एउटा कोर्स लिन पर्थ्योर मलाई झारपातहरुको हर्बारियम (बिरुवाको आकार प्रकारलाई नबिगारिकन सुकाएर संरक्षित राख्ने) बनाउन मन पर्थ्यो। मैले नामसहित चिन्ने थोरै बिरुवाहरुमध्ये पर्थ्यो, त्यो ।

त्यो झार चितवनतिर चौर र बाटाका छेउछाउतिर छ्यास्छ्यास्ती देख्ने गर्छु । त्यो थियो इफोरबिया हिर्टा । तैपनि पक्का गर्न समाचारभित्र गएँ । नभन्दै त्यही रहेछ । समाचारको शिर्षक थियो – कोभिड–१९ उपचार : वैज्ञानिकहरुले कोरोना लक्षणको उपचारको लागि आस्थामा विरुवाको सिफारिस । चार हप्ताअघि अप्रिल २१, २०२० मा प्रकाशित उक्त समाचार तयार गरेका थिए न्यूज एजेन्सी अफ नाइजेरियाका चिडिन्मा इवुनोनु–अलुकोले र सम्पादन गरेका थिए ओलुयिन्का फाडारे र वाले साडिकले ।

Yeti Diistillery

उक्त बिरुवालाई ‘आस्थमा प्लान्ट’ भन्ने रहेछन् । किनकि यो दम रोग (आस्थमा) को घरेलु उपचारमा प्रयोग हुने रहेछ । मलाई यसअघि थाहा थिएन । यसलाई नेपालीमा दुधे झार, अंग्रेजीमा कमन स्पर्ज भनिन्छ ।

युनिभर्सिटी अफ इबाडन, नाइजेरियाका प्राध्यापक तथा वैज्ञानिकहरु – प्रा।ओलानियी बाबायमी (पशु वैज्ञानिक), प्रा. ओलापेजु यिएलाग्बे (रसायन शास्त्री), डा. अहमद अबु (पशु वैज्ञानिक), डा. एडियोलुवा (अर्गानिक कृषि विज्ञ), डा. ओलाजुमोके फायिनमिन्नु (टक्सिकोलोजिस्ट), र डा. फुनमियालो एडेबिइ (पशु विज्ञ) को टोलीले यो बिरुवामा काम गरेका रहेछन् । त्यस्तै अध्ययनमा संलग्नहरु अरु थिए – डा। आइडयाट जिबाडामोसी (इथ्नोबोटानिस्ट), डा. जे. बडेजो (औषधि विकास विज्ञ), र प्रा. एडेमोला लाडेले (कृषि प्रसार विज्ञ) ।

उक्त बिरुवा खासमा सुख्खा खोकी, सास फेर्न गाह्रो पर्ने, ज्वरो आउने र अरु लक्षणहरुको (जुन सबै कोभिड–१९ सँग मिल्दाजुल्दा छन्) उपचारमा प्रयोग हुँदै आएको जडीबुटी (हर्बल अल्टरनाटिभ) हो । यो विरुवा उमालेर चियाझैँ पिउन सकिन्छ र खोकीको लागि प्राथमिक उपचारको रुपमा लिन सकिन्छ ।

आस्थमाको चियाले सुख्खा खोकीलाई नरम बनाएर खकार निकाल्न सजिलो बनाउँछ । समाचारमा उल्लेख भएअनुसार यो सुरक्षित जडीबुटी चिया (हर्बल टी) हो र खोकी निको हुन ६ दिनसम्म लगातार लिनुपर्छ । तथापि यो गर्भवती महिलाको लागि सिफारिस गरिएको छैन । एक मुठ्ठी बिरुवा पानीमा १५ मिनेट उमालेर पिउन सकिन्छ । एओडोयिन भन्छन् – मैले आफ्नै परिवारमा प्रयोग गर्ने गरेको छु, ३ दिनमै असर देखिन्छ ।

उक्त बिरुवामा ट्राइटरपेन, फाइटोस्टेरोल्स्, टानिन्स्, पोलिफेनोल्स्, फ्लाभोन्वाइड्स, इसेसिन्यल आयल, अल्कल्वाइड्स, सापोनिन्स्, एमिनो एसिड्स, मिनरल्स् (खनिज पदार्थहरु) पाइन्छन् । साथै यसमा पाइने क्युरसिट्रिन (एक प्रकारको फ्लाभोन्वाइड ग्लाइकोसाइड) मा पखाला रोक्ने (एन्टिडायरिया) गुण पाइन्छ । साथै यो आस्थमा बिरुवा पेटसम्बन्धी अरु गडबडी जस्तै आउँ, जुका तथा अन्य परजिवीहरुको उपचारमा प्रयोग गर्न सकिन्छ । यस बिरुवाको पानी रस (आक्वायोस् एक्सट्राक्ट) मा एनजियोलाइटिक, एनाल्जेस्टिक, एन्टिपाइरेटिक र एन्टिइन्फ्लामेटोरी गुणहरु पाइन्छन् । साथै यसमा एन्टिअक्सिडान्ट र फ्रि राडिकल स्काभेन्जिङ गुण हुन्छन् । अल्प रक्तचाप र डेंगु ज्वरोको उपचार तथा ब्लड प्लेटलेट्स बढाउन पनि यो प्रयोग गरिन्छ । यसको जराको काडा (डिकक्सन) दुध राम्ररी नआउने (गालाक्टोगोग्यु) सुत्केरी महिलाको लागि फाइदाजनक पाइएको छ ।

यसको प्रयोगले एन्जाइटी र स्ट्रेसबाट समेत मुक्त हुने उल्लेख छ । दक्षिण भारतमा छालाको रोग तथा घाउको उपचारमा समेत यसको प्रयोग गरिन्छ । यसलाई तरकारीको रुपमा खुवाएर अल्सरको उपचार गरिन्छ । यो शक्तिशाली औषधीय बिरुवा हो । त्यसैले यसको प्रयोग होशपूर्वक गर्नुपर्छ । बेनिन सहरमा कुनै पनि प्रकारको खोकीको उपचारमा यो बिरुवालाई पिसेर पाम तेलसंँग मिसाएर खुवाइन्छ ।

माथि उल्लेखित वैज्ञानिकका समुहले कोभिड–१९ लक्षणको उपचारमा यो आस्थमा बिरुवा सहयोगी हुन सक्ने जनाए पनि कोभिड–१९ बिरामी निको हुनै कुनै प्रमाण भेट्टाएका छैनन् । नाइजेरियाकै अर्को टोली जिगावा भार्सिटीले योलगायत अन्य विरुवाहरुको कोभिड–१९ उपचारमा क्लिनिकल परीक्षण थालेको छ ।

यो सानो सामग्री खासमा माथि उल्लेखित समाचारमा आधारित छ । अहिले कोभिड–१९ नेपालमा पनि बढ्दै गइरहेको परिप्रेक्ष्यमा यो जानकारी लाभदायक हुन सक्ने लागेर संक्षिप्त अनुवाद गर्ने प्रयास गरेको हुँ । नेपालमा पनि यसको केही अध्ययन अनुसन्धान भएको देखिन्छ । तथापि यसबारे वृहत अध्ययन अनुसन्धान हुन सके विशेष गरी स्वास्थ्य क्षेत्र लाभान्वित हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस