मानिसमा गरिएको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल

खोप बजारमा आउन जनवरी सम्म कुर्नुपर्ने

एजेन्सी

मंगलबार, ०६ जेठ २०७७, ०९ : ४४
मानिसमा गरिएको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल

एजेन्सी । मानिसमा गरिएको पहिलो चरणको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण अमेरिकामा सफल भएको छ।  खोप सफल भएपनि यसको थप परिक्षण गर्नुपर्ने भएको यो खोप बजारमा आउन आगामी जनवरी सम्म कुर्नुपर्ने बताइएको छ । 

यो खोप नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको हो । मोडेर्नाले सोमबार साँझ खोप सम्बन्धि जानकारी अनुसार एमआरएनए (१२७३ खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा आशा गरिए भन्दा बढी रोग प्रतिरोधी क्षमता बढेको पाइएको छ । शरीरमा यसका नकारात्मक असर पनि कम मात्र देखिएको छ ।

कम्पनीका अनुसार खोप लगाइएकाहरुमा रोग प्रतिरोधी क्षमता कोरोनाभाइरससँग लड्ने क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टीफन बैसेलले तत्काल योभन्दा उत्तम नतीजाको आशा गर्न नसकिने बताएका छन् ।

कम्पनीका प्रमुख मेडिकल अफिसर डा। ताल ज्याक्सले थप परीक्षणपछि मात्र खोप बजारमा आउन सक्ने बताएका छन् । पहिलो चरणको परीक्षण सफल भएको भन्दै उनले आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार मोडेर्ना कोरोनाभाइरस विरुद्धको खोप मान्छेमा परीक्षण गरिरहेका विश्वका आठमध्येको एक कम्पनी हो । अन्य दुई कम्पनी फिजर र इनोभियो पनि अमेरिकामा नै परीक्षण गरिरहेका छन् । मोडेर्नाले आठ जनामा दर्जनभन्दा बढी पटक यो खोप परीक्षण गरेको थियो । सबै जनामा भाइरसलाई निस्क्रिय गर्ने क्षमता यसअघि संक्रमित भएर निको भएका बिरामीमा झैँ बढेको थियो ।

उनीहरु सहित १८ देखि ५५ वर्षसम्मका कूल ४५ जना स्वस्थ मान्छेमा गरिएको सबै परीक्षण सकारात्मक आएको छ। कोरोना भाइरसविरुद्धको खोपको खोजी गर्ने कार्य अति तीव्र गतिमा भइरहेको छ । विश्वभर हाल झण्डै ८० वटा समूहले खोपको खोजीमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस