कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका , संक्रमित जिल्लाबाट हजारौं भित्रिए

पत्रपत्रिकाबाट

सोमबार, ०५ जेठ २०७७, ०७ : ५२
कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका , संक्रमित जिल्लाबाट हजारौं भित्रिए

काठमाडौं । लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरू क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम देखिएको छ । सरकारले गत ११ चैतदेखि गर्दै आएको बन्दाबन्दी (लकडाउन)को समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ । ती व्यक्ति क्वारेन्टाइनबाहिर नै रहेको र कतिपयमा चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पाइएको छ ।

गत बिहीबारसम्म लकडाउनमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यस समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको पाइएको हो ।

नागढुंगाका एक स्थानीय महिलाका अनुसार वैशाख अन्तिम साता मात्र उपत्यका बाहिरबाट करिब सात वटा रिजर्भ बसमा काठमाडौं उपत्यकामा मानिस भित्रिएका छन् । नागढुंगामा प्रहरीको चेकजाँच हुने भएपछि नजिकै उनीहरूलाई छाडिएको र उनीहरू पैदलमार्ग हुँदै काठमाडौं उपत्यमा भित्रिएको उनले राजधानीलाई जानकारी दिइन् ।

गत वैशाख दोस्रो साता उपत्यकामा अलपत्र परेका तथा गाउँ फर्किन चाहनेहरूका लागि राजनीतिक पहुँचका आधारमा गाउँ पठाइएको थियो । ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र नेताहरूले दर्जनौं गाडी रिजर्भ गरेर उपत्यकाबाट मान्छे पठाएका थिए । लकडाउनको बिचैमा तीन दिन भीडभाड लागेको थियो भने केन्द्र सरकारले आँखा चिम्लिदिएको थियो । सोही समयमा उपत्यकामा थुप्रै व्यक्ति भित्रिएको उपत्यका छिर्ने नाकाका स्थानीय बताउँछन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस