लकडाउन पूनः दुई हप्ता थप्ने तयारी, आजै साँझ ५ बजे मन्त्रिपरिषद् बैठक

'रेड जोन, एल्लो जोन, ग्रिन जोन जस्ता समुहमा मुलुकका भूभागलाई वर्गीकरण गर्ने र त्यसका आधारमा लकडाउनको मोडालिटी परिवर्तन'

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०७७, ०९ : ३५
लकडाउन पूनः दुई हप्ता थप्ने तयारी, आजै साँझ ५ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले फेरि लकडाउन कम्तीमा दुई हप्ता थप गर्ने तयारी गरेको छ । कोरोनाका कारण एक सुत्केरी महिलाको निधन भईसकेको २९१ जना संक्रमति पुष्टि भएको र थप थपिने क्रममा देखिएपछि सरकारले लकडाउन पूनः थप गर्ने तयारी गरेको हो ।

त्यसका लागि आज साँझ ५ बजे प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अहिलेको लकडाउन भोलि ५ गते मध्यरात १२ बजेसम्मका लागि मात्र तोकिएको छ । सरकारले गत चैत ११ यता पटक पटक लकडाउनको म्याद थप गर्दै आईरहेको छ । लकडाउनमा पनि सर्वसाधारणले आवतजावत बाक्लो बनाउने, जथाभावी बाहिर निस्कने गरेका कारण समस्या देखा परेको निश्र्कषमा सरकार छ ।

प्रधानमन्त्री ओलीले अघिल्लो क्याबिनेट बैठकमा आफ्ना मन्त्रीहरुसँग असन्तुष्टि पोख्दै नेपालमा लकडाउन छ र ? भन्दै ब्यङग्य गरेका थिए ।  उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा सरकारले विभिन्न ४२ ओटा उद्योगलाई सुरक्षित तवरले कार्यालय सञ्चालनमा अनुमति दिएपछि लकडाउन केही खुकुलो भएको थियो ।

त्यसमा प्रधानमन्त्रीको असन्तुष्टि थियो । महिना दिनसम्म कोरोनाको संक्रमण खास नदेखिरहेका बेला पछिल्लो ५ दिन यता हवात्तै बढेर २९१ मा पुगिसकेको छ । उच्चस्तरीय समितिले अबको लकडाउन के गर्ने भन्ने विषय, कोरोनाको संक्रमण नेपालमा कुन अवस्थामा रहेको भन्ने आदी विषयमा जनस्वास्थ्य विज्ञहरुसँग छलफल गरेर प्रधानमन्त्रीलाई सुझाव दिएको छ । समितिले हिमाली क्षेत्रहरु, पहाडी क्षेत्र र मुख्य शहरहरुलाई लक्षित गरेर विभिन्न समुहमा वर्गीकरण गरेको छ ।  

रेड जोन, एल्लो जोन, ग्रिन जोन जस्ता समुहमा मुलुकका भूभागलाई वर्गीकरण गर्ने र त्यसका आधारमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि उच्चस्तरीय समितिमा छलफल भएको थियो । अहिले उसले २० जेठ सम्म लकडाउन बढाउन प्रधानमन्त्रीलाई सिफारिस गर्ने तयारी गरेको स्रोतले बताएको छ ।  त्यसपछि आजै बस्ने मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण नेपालीको मृत्यु सम्म भएको अवस्थाको मूल्यांकन गर्दै, बढदै गएको कोरोनाको संक्रमणका विषयमा पनि मध्यनजर गरेर थप निर्णय लिने एक मन्त्रीले सफलखबरलाई बताए ।

उनका अनुसार बढदो संक्रमणको अवस्थालाई हेरेर सरकारले अब दुई साता लकडाउन बढाउने तयारी भएको छ । परिक्षणको मात्रा पनि बढाउने तयारीमा सरकार लागेको छ । छिमेकी मुलुक भारतमा पनि लकडाउन बढाउने तयारी भईरहेकोले नेपालले पनि लकडाउन बढाउने तयारी गरेको पनि ति मन्त्रीको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस