बेलहिया नाकाबाट एक हजार नेपाली घर फिर्ता

शनिबार, ०३ जेठ २०७७, २३ : ०९
बेलहिया नाकाबाट एक हजार नेपाली घर फिर्ता

file photo

लुम्बिनी । रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपाली रोजगारदाता कम्पनी बन्द भएपछि धमाधम घर फर्किएका छन् । कम्पनीले बेतलबी बिदा दिएपछि घर जान हिँडेकाहरु केही दिनदेखि सीमावर्ती भारतीय क्षेत्रमा बनाइएका क्वारेन्टिनमा बसेका थिए ।  एक हप्तादेखि उनीहरु स्वदेश फिर्ता हुने क्रम बढेको हो ।

अहिलेसम्म रुपन्देहीको बेलहिया नाकाबाट एक हजार २०९ जना स्वदेश फिर्ता भइसकेका छन् । दिनभर सीमा क्षेत्रमा स्वदेश फर्कनेको लर्को लागेकोे बेलहियाका  रामबहादुर बस्नेतले बताउनुभयो । आज स्वदेश फिर्ता भएका १६५ नेपालीलाई देवदहस्थित क्वारेन्टिनमा पठाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो ।

सीमा क्षेत्रमा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी प्रवासी नेपालीलाइ लिन पुग्नुभएको थियो । यसैबीच नेपालका विभिन्न क्वारेन्टिनमा बसेका १३२  भारतीय  घर फर्केका छन् । स्वास्थ्य जाँच गरी रिपोर्ट नेगेटिभ आएको हुनाले तिनलाई आफ्नो देश पठाइएको हो । 

शुक्रबार मात्रै भारतबाट २३९ जना प्रवासी स्वदेश फिर्ता भएका थिए । शुक्रबार आएकामध्ये २१३ जना कञ्चन गाउँपालिका र २६ जनालाई सिद्धार्थनगर नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । बेलहिया नाकाबाट यसअघि पहिलो चरणमा ३१०, दोस्रो चरणमा ४९५, तेस्रो चरणमा २३९ र चौथो चरणमा १६५  जना प्रवासी घर फर्केका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस