करोनामुक्त मुलुक पहिलो प्राथमिकता

पत्रपत्रिकाबाट

शनिबार, ०३ जेठ २०७७, ०६ : ५७
करोनामुक्त मुलुक पहिलो प्राथमिकता

काठमाडौँ । स्वास्थ्य पूर्वाधार निर्माणसहित कोरोना भाइरस रोग (कोभिड–१९)मुक्त नेपाल बनाउन सरकारले पहिलो प्राथमिकतामा राखेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै कोरोना भाइरसले निम्त्याएको महामारीमाथि विजय प्राप्त गरी नागरिकको रक्षा गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभएको हो ।

सरकारको अहिलेसम्मको प्रयास, स्पष्ट रणनीति र नेपालीको धैर्य तथा एकताले देशभित्र कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म जीवनरक्षा गर्न सफल भएको राष्ट्रपति भण्डारीले बताउनुभयो । यसका लागि सरकारले अतिरिक्त स्रोत परिचालन गर्न छुट्टै कोष, अत्यावश्यक वस्तु आपूर्तिको व्यवस्था, प्रभावित उद्योग व्यवसायलाई सहुलियत, गरिब, असहाय र विपन्नलाई स्थानीय तहमार्फत राहतको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्य सेवाको पहुँच र त्यसका लागि आवश्यक पूर्वाधार निर्माण, कृषि क्षेत्रको विस्तार, आन्तरिक स्रोत परिचालन र उत्पादन, रोजगारी सिर्जना, शिक्षा प्रणाली र सार्वजनिक सेवा प्रवाह सुधारलाई प्रमुख रूपमा केन्द्रित गरेको छ । यसै अनुसार सरकारले क्षेत्रगत रूपमा कार्यक्रमसमेत तय गरेको छ ।

निरोगी नेपाल निर्माणको नीतिसहित नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि र निरोधात्मक कार्यक्रम सरकारले सञ्चालन गर्ने भएको छ । कोरोना महामारीबाट नेपालभित्र कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिन व्यापक परीक्षण गर्ने, औषधि उपकरण एवं चिकित्सकलगायत पर्याप्त व्यवस्था र परिचालन गर्ने सरकारको कार्यक्रम छ । देशैभर स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न पूर्वाधार निर्माणसहित विशिष्टीकृत सेवामा सरकारले जोड दिएको छ ।

राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अवसरका आधारमा जनशक्तिको प्रक्षेपण गरी विषय क्षेत्रगत जनशक्ति उत्पादनलाई सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । यसका लागि शिक्षाको गुणस्तर सुधारमा जोड दिने सरकारको रणनीति छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस