कालापानीनजिकै सशस्त्रको बिओपी स्थापना

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, १७ : ३८
कालापानीनजिकै सशस्त्रको बिओपी स्थापना

काठमाडौं । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ‘बीओपी’ स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो ।

बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ ।

नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो ।

दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको थियो । विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । 

छाङ्रुमा भाडाको घरमा बीओपी स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।