नेकपा स्थायी समिति बैठक आज

प्रधानमन्त्री ओली यसकारण तयार भए स्थायी समिति बैठक राख्न

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, ०९ : १२
प्रधानमन्त्री ओली यसकारण तयार भए स्थायी समिति बैठक राख्न

file photo

काठमाडौं । सत्तारुढ दल नेकपाको बहुप्रतिक्षित पार्टी स्थायी समिति बैठक आज (बुधबार) बस्दैछ । बिहान ११ बजेबाट पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाईएको नेतृ पम्फा भुषालले बताइन् । ‘आज ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने तय भएर खबर आएको छ,’ स्थायी समिति सदस्य भुषालले भनिन् ।

प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीका बेला राजनीतिक दल फुटाउन सक्ने र सम्वैधानिक परिषदमा प्रतिपक्ष नेताको अनुपस्थिती र असहमति बिच पनि सम्वैधानिक निकायका नियुक्ती गर्न पाउने गरी दुई अध्यादेश ल्याएपछि नेकपाभित्र चर्काे विवाद बढेको थियो । त्यसपछि २० जना स्थायी समिति सदस्यले बैठक माग गर्दै १० वैशाखमा अध्यक्षद्दय केपी ओली र प्रचण्डलाई बैठक माग गर्न आग्रह गर्दै पत्र बुझाएका थिए ।

त्यसयता बैठकको दबाबमा थिए, प्रधानमन्त्री ओली । आफुले पार्टीसँग सल्लाह नै नगरी दल विभाजन गर्ने, अन्य पार्टी विभाजनका लागि सांसद समेत अपहरण गराउने जस्ता निष्कृष्ट काम गरेको आरोप आफुलाई पार्टीभित्रबाट लागेपछि ओलीले बैठक छल्न चाहिरहेका थिए । २५ वैशाखमा स्थायी समितिको बैठकको मिति पनि तोकियो । तर ओलीले पार्टीभित्रै अप्ठयारो पार्ने देखेपछि अहिले बैठकको औचित्यता नै छैन भन्दै बैठक अस्वीकार गरेका थिए ।

तर अध्यक्ष प्रचण्डले स्थायी समितिका सदस्यहरुको मागका आधारमा बैठक बोलाउनु पर्ने अडान निरन्तर लिईरहे । पार्टी विवाद नेकपाको संसदमा समेत प्रकट हुन थाल्यो । ओली चाहन्थे,–संसदमा सीमा विवाद, प्रि बजेट छलफल र नीति तथा कार्यक्रमका विषयमा नै नेकपाका सांसदहरु सवैको एउटै धारणा बनोस्, सरकारको योजनालाई साथ रहोस । तर उनले चाहेजस्तो संसदमा वातावरण त्यस्तो देखिएन । भीम रावल, वेदुराम भुषाल लगायत नेताहरुले संसदमै खुलेर सरकारको आलोचना गर्न थाले । यसले प्रधानमन्त्री ओली थप दबाबमा परेका थिए । 

नीति तथा कार्यक्रम र बजेटमा पार्टीभित्र छलफल नगराउदा थप समस्या पर्ने र पारित गराउन अप्ठयारो आइलाग्ने देखेपछि प्रधानमन्त्री बैठकका लागि तयार देखिएका थिए । मंगलबार अध्यक्ष प्रचण्डसँगको भेटमा समेत उनी बजेट पछि मात्र बैठकका विषयमा सोच्न सकिने अडानमै थिए । तर बुधबार एकाएक उनले महासचिव विष्णु पौडेललाई पहिले अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पठाए । पौडेल र प्रचण्ड छलफल पछि दुई अध्यक्षले बैठकका विषयमा टेलिफोनमा छलफल गरे । र, त्यसपछि तय भयो, स्थायी समिति बैठक ।
 
बैठकमा लिपुलेकको सीमा समस्या र कोरोना छलफललाई मुख्य एजेण्डा बनाउने, सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि सुझाव लिने गरी बैठकका एजेण्डा तय भएका छन् । २० नेताहरुले समग्र विषयमा छलफलका लागि स्थायी समिति बैठक बोलाउन पाउनु पर्ने विषयलाई एजेण्डा नै नल्याउने गरी बैठक बोलाउन प्रधानमन्त्री तयार भएपछि बल्ल बैठक बस्न लागेको हो । तर बैठकमा स्थायी समिति सदस्यले एजेण्डा थपघट गर्न पाउनेछन् ।

असन्तुष्ट नेताहरु बैठकको एजेण्डा थप गरेर अगाडी जाने रणनीतिमा छन् । उनीहरु सरकारको काम, पार्टी कामको समिक्षा, एक ब्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय पनि उठाउने रणनीतिमै देखिन्छन् । यस अर्थमा पनि बैठक नेकपाभित्र निक्कै चासोका साथ हेरिएको छ । बैठक प्रधानमन्त्री ओली सकभर आजै सक्ने नभए भोलिसम्ममा टुंग्याउने पक्षमा देखिएका छन् ।

तर अन्य नेताहरु भने बैठकमा निरन्तर छलफलको तयारीमा छन् । अहिले नभ्याएपनि बजेट पछि पून छलफलमा बसेर भएपनि समग्र विषयमा छलफल गर्नुपर्ने पक्षमा छन् । नेकपा बैठकमा आज प्रधानमन्त्री ओली कसरी प्रस्तुत हुन्छन् भन्नेले पनि बैठकमा धेरै कुराको अर्थ राख्ने नेताहरुको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस