लकडाउन उल्लंघन गरेको भन्दै दुई होटल भत्काइयो

एजेन्सी

मंगलबार, ३० बैशाख २०७७, १० : ०८
लकडाउन उल्लंघन गरेको भन्दै दुई होटल भत्काइयो

एजेन्सी । नाइजेरियामा सरकारले घोषणा गरेको लकडाउनको उल्लघंन गरेको भन्दै सरकारले दुई होटल भत्काईदिएका छन् । सरकारले रिभर्स राज्यका दुई होटल भत्काइदिएको हो ।  राज्यका गभर्नर न्येसोम वाइकीको रेखदेखमा इदिमेते होटल र प्रोडेस्ट नामका दुई होटल आइतबार भत्काइएका हुन् ।

गर्भनरले लकडाउन अवधिभरी होटल खोल्न नपाउने नियम तोडेकोले यी दुई होटल भत्काउनुपरेको जानकारी दिए । कोरोना संक्रमित बिरामी राज्यका विभिन्न होटलमा बसिरहेको भेटिएको उनले बताए । यद्यपि, उनले भत्काइएका होटलमा पनि संक्रमित बसे नबसेको बारे भने जानकारी दिएनन् ।

यता होटलसंचालकले मागिएको घुस नदिदा होटल भत्काईदिएको आरोप लगाएका छन् । प्रहरीले दुबै होटलका म्यानेजरलाई पक्राउ समेत गरेका छ । ‘होटल सञ्चालन गरिएकै थिएन र ७० प्रतिशत कर्मचारीलाई घर पठाइएको थियो,’ गोगोरोबारी प्रोमिस निदामले भनेका छन्–‘होटलमा जम्माजम्मी तीनजना व्यक्ति मात्रै थिए ।’

‘अधिकारी आए र घुसको माग गरे । उनीहरुले घुस दिए लकडाउनमा पनि होटल सञ्चालन गर्न दिने बताइरहेका थिए । तर हामीले होटल सञ्चालनमा नआएकोले घुस दिन आफूसँग पैसा नभएको बतायौं,’ उनले भने । रिभर्स राज्यका अधिकारीले भने घुस मागिएको विषयको खण्डन गरे । यो राज्यमा १५ जना संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस